आज अवकाश हुँदै आईजी कुँवर, को बन्ला नयाँ प्रहरी प्रमुख ?

विद्यमान प्रहरी नियमावलीअनुसार ३० वर्षे उमेर सेवा अवधिका कारण उनी अवकाशमा जान्छन् ।


४ चैत, काठमाडौं । सोमबार राति १२ बजेबाट प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवर अनिवार्य अवकाशमा जाँदैछन् ।

कुँवरलाई आइतबार नै सशस्त्र प्रहरी हेडक्वाटरले बिदाइसमेत गरिसकेको छ । आज सोमबार प्रहरी हेडक्वाटरले कुँवरको बिदाइ गर्नेछ ।

विद्यमान प्रहरी नियमावलीअनुसार ३० वर्षे उमेर सेवा अवधिका कारण उनी अवकाशमा जान्छन् । कुँवर अवकाशमा जाने भएसँगै ३१ औं आईजी को बन्छन् भन्ने प्रमुख चासो रहेको छ ।

३१ औं आईजीका तीन एआईजीहरु प्रतिस्पर्धामा छन् । जसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख तथा एआईजी कार्यरत दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी)का प्रमुख तथा एआईजी सुदीप गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङ छन् । उनीहरू तीन जनामध्ये एक जनालाई सरकारले आईजीमा बढुवा गर्नेछ ।

आईजी बढुवाका लागि आज मन्त्रीपरिषद् बैठक बस्ने बताइए पनि समय भने अहिलेसम्म तोकिएको छैन ।

अहिले आईजीपीको प्रतिस्पर्धामा रहेका तीनै जना हालका आईजीपी कुँवरकै ब्याचको वैकल्पिक टोलीका रुपमा भदौ २०५२ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *