कुलमान हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादी केन्द्रको माग
कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै प्रायोजित दुष्प्रचार सुरु गरिएको पनि माओवादीले आरोप लगाएको छ ।

१२ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक रहेको बताएको छ ।
पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णयलाई ‘कुशासनको दृष्टान्त’ को रुपमा व्याख्या गरेका छन् ।
‘बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त हो,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सृजना गर्ने उद्देश्यले गरिएको छ ।’
माओवादी केन्द्रले उक्त निर्णय तत्काल फिर्ता लिन माग पनि गरेको छ ।
‘यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ,’ माओवादीले भनेको छ ।
कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै प्रायोजित दुष्प्रचार सुरु गरिएको पनि माओवादीले आरोप लगाएको छ ।