काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले पाए तलब
रोकिएको तलब पाउन माग गर्दै कर्मचारीहरूले सरकारसँग आक्रोश समेत व्यक्त गरेका थिए ।

२५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले तलब पाएका छन् । महानगरका प्रवक्ता नवीन मानन्धरले पछिल्लो तीन महिना रोकिएको तलब सोमबार सबैको खातामा पुगेको जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारी र जनप्रतिनिधिको तीन महिनादेखि तलब रोकिएको थियो । रोकिएको तलब पाउन माग गर्दै कर्मचारीहरूले सरकारसँग आक्रोश समेत व्यक्त गरेका थिए ।
गत पुस ७ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय हाजिर भएका थिए । उनी महानगरमा हाजिर गर्न पुग्दा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो ।
बिहीबार कार्यालय हाजिर गरेका गुरागाईंले भोलिपल्ट नै कर्मचारी र जनप्रतिनिधिलाई तलब दिन तोक लगाइदिएका थिए ।