दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान सुरु

१५ चैतमा तीनकुनेमा भएको राजावादी प्रदर्शनमा सुरक्षाकर्मीलाई मार्ने नियतले गाडीले पेल्दै अघि बढेको आरोप उनीमाथि छ ।


२ वैशाख, काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा पनि अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा जाहेरी आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

१५ चैतमा तीनकुनेमा भएको राजावादी प्रदर्शनमा सुरक्षाकर्मीलाई मार्ने नियतले गाडीले पेल्दै अघि बढेको आरोप उनीमाथि छ । गृहमन्त्रीले समेत सार्वजनिक रूपमा प्रसाईंले सुरक्षाकर्मीलाई ज्यान मार्ने नियतले गाडी कुदाएको बताएका थिए ।

ज्यान मार्ने नियतले गाडीले पेलेर अघि बढेको भन्दै उनीविरुद्ध ड्युटीमा खटिएका प्रहरीहरूले सामूहिक निवेदन दिएको प्रहरी स्रोतले बतायो । ‘त्यस दिन ड्युटीमा खटिएका प्रहरीले ज्यान मार्ने उद्योगको कसुरमा निवेदन दिएका छन् । योसँगै उनीविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा पनि अनुसन्धान सुरु भएको छ,’ परिसर स्रोतले भन्यो ।

ज्यान मार्ने उद्योगको कसुर प्रसाईंविरुद्ध सबैभन्दा बलियो मुद्दा बन्न सक्ने बताइएको छ । सार्वजनिक भएको भिडिओमा प्रसाईं आफैंले गाडी चलाउँदै ड्युटीमा खटिएका प्रहरीलाई पेल्दै गाडी अगाडि बढाएको देखिन्छ । त्यस क्रममा उनले अपशब्द समेत बोलेको भिडिओमा सुनिन्छ ।

यसका साथै आपराधिक उपद्रवको कसुरमा पनि प्रसाईंविरुद्ध अनुसन्धान अघि बढाइएको छ । अहिलेसम्म प्रसाईंविरुद्ध एक साथ चार वटा कसुरमा अनुसन्धान अघि बढाइएको छ । उनीविरुद्ध राज्यविरुद्धको कसुर अन्तर्गत राजद्रोहको कसुर, संगठित अपराधमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिइएको थियो ।

यसमा ज्यान मार्ने उद्योगको कसुर र आपराधिक उवद्रव पनि थपिएसँगै चार वटा कसुरमा एक साथ अनुसन्धान अघि बढाइएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *