मकवानपुरगढीमा गाडी दुर्घटना हुँदा बालिकासहित २ जनाको मृत्यु, १४ जना घाइते
गाडी सडकको मोडबाट करिब २०० मिटर तल खसेको छ ।

५ वैशाख, काठमाडौं । मकवानपुरगढी गाउँपालिकास्थित कान्तिलोकपथ खण्डमा इभी गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मकवानपुरगढी गाउँपालिका-२ धरमपानीमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको बाप्र०१-००६ ख ७०७२ नम्बर इभी गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार सर्लाहीको बागमती गाउँपालिका-७ बस्ने १३ वर्षीय मानुसी मगर र रौतहट दुर्गा भवानी गाउँपालिका वडानम्बर(५ बस्ने ५० वर्षीय निलम देवी राउतको मृत्यु भएको छ ।
मगरको शव घटनास्थल नजिकको खोल्सामा भेटिएको थियो भने राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा १४ जना घाइते भएका छन् । चालक सर्लाही बागमती गाउँपालिका-५ का २९ वर्षीय कमलबहादुर दर्लामीसहितका घाइतेहरु १४ जनाको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।
गाडी सडकको मोडबाट करिब २०० मिटर तल खसेको छ ।