ताप्लेजुङ दुर्घटना : दोषी बिजुलीको तार कि हिलाम्य सडक ?
एक त कच्ची सडक, त्यसमाथि पानी परेपछि सडक हिलाम्य अवस्थामा छ ।

८ वैशाख, काठमाडौं । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा ४ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।
ताप्लेजुङ सदरमुकामबाट दर्शनार्थी लिएर पाथीभरातर्फ जाँदै गरेको मे १ भ ३०११ नम्बरको बोलेरो जिप फुङलिङ नगरपालिका–१० सेवारो चोक भन्ने स्थानमा लत्रिएको बिजुलीको तारमा अल्झिएर आगलागीको शिकार बन्यो ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी भीमबहादुर दाहालका अनुसार दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् ।
मृत्यु हुनेमा ललितपुर महानगरपालिका–१० बस्ने सविना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङ फुङलिङ–१० बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराई छन् । विनोद र सरिता सविनाका बुबाआमा हुन् ।
घाइते हुनेमा ललितपुर महानगरपालिका–१० बस्ने ४५ वर्षीया सबिना आचार्य र उनको १० वर्षीय छोरा भविमय आचार्य छन् । उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
झट्ट हेर्दा यो दुर्घटना लत्रिएको बिजुलीको तारका कारण भएको देखिन्छ । तर, दुर्घटनास्थलको तस्वीर नियालेर हेर्दा जिप हिलाम्य सडकमा फसेको छ । मृतकको शव हिलोमा गडेको अवस्थामा देखिन्छ ।
जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाका अनुसार जिप बिहान ३ बजेतिर हिँडेको देखिन्छ । त्यस समय बाटोमा हुस्सु लाग्छ । एक त कच्ची सडक, त्यसमाथि पानी परेपछि सडक हिलाम्य अवस्थामा छ । खाल्डो छलेर अगाडि बढ्ने क्रममा जिप बिजुलीको तारमा अल्झन पुगेको देखिन्छ ।