नवराज सुवेदीको घरबाट हट्यो प्रहरी

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले भने पहिले सुरक्षाको लागि प्रहरी त्यहाँ बसेको दाबी गरे ।


९ वैशाख, काठमाडौं । राजसंस्था पुनर्थापनाका लागि भन्दै गठित समितिका निवर्तमान संयोजक नवराज सुवेदी गौरीघाटस्थित घरबाट प्रहरी हटेको छ । मंगलबारदेखि उनको घर वरपर तैनाथ प्रहरीको टोली हटेको हो ।

१५ चैतको रातिदेखि सुवेदीको घर वरपर प्रहरी तैनाथ थिए । २४ दिनपछि प्रहरी हटेको समितिका प्रवक्ता स्वागत नेपालले बताए ।

१५ चैतमा राजावादीहरूले गरेको प्रदर्शन उग्र भएपछि प्रहरीले उनलाई घरमै निगरानी गरेर राखेको थियो । त्यस क्रममा उनलाई बाहिर हिंडडुल गर्न समेत निषेध गरिएको थियो । यसपछि समितिको कार्यबाहक समितिको जिम्मा जगमान गुरुङलाई दिइएको थियो ।

तर, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले भने पहिले सुरक्षाको लागि प्रहरी त्यहाँ बसेको दाबी गरे । ‘सुरक्षाका कारण केही दिन प्रहरीले सुरक्षा दिएको होला । प्रहरी नै घेरा हालेर कसैलाई राखेको अवस्था थिएन,’ उनले भने ।

१५ चैतमा राजावादी समूहले गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु र प्रहरीको गोलीबाट २० जना घाइते भएका थिए ।

त्यसक्रममा सार्वजनिक र निजी सम्पत्ति जलाइएका थिए । प्रहरीले अनुसन्धानका क्रममा राप्रपा नेता रवीन्द्र मिश्र, जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंसहितका व्यक्तिहरू पक्राउ गरेको थियो ।

सुवेदीलाई भने घरमै निगरानीमा राखिएको प्रहरीले बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *