कश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
आजै साँझ ५ बजे श्रीनगरबाट नयाँ दिल्ली र राति ९ः३० बजे नयाँ दिल्लीबाट लखनउ हवाई जहाजमा ल्याइने मन्त्री राणाको सचिवालयले बताएको छ । त्यस्तै, लखउनबाट नेपालको बोर्डरसम्म एम्बुलेन्समा ल्याउने व्यवस्था गरिएको हो ।
१० वैशाख, काठमाडौं । कश्मिरको पाहलगममा भएको आतंककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ। परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग गरेको पहलपछि उनको शव आजै ल्याउन लागिएको हो।
हिजो कश्मिरमा आतंककारीहरूको आक्रमणमा परेर सुदीपको ज्यान गएको थियो । उनको साथमा रहेका आफन्तहरू रिमकला पाण्डे, युवराज काफ्ले, सुषमा न्यौपाने र अर्का एक नेपाली हरिप्रसाद सापकोटालाई पनि आजै नेपाल ल्याउन लागिएको हो ।
आक्रमणमा परेर रिमकला घाइते छिन् ।
परराष्ट्रमन्त्री डा राणाले नयाँ दिल्लीस्थित नेपाली राजदूत डा. शंकर शर्मासँग शव ल्याउने विषयमा समन्वय गरेकी थिइन् ।
आजै साँझ ५ बजे श्रीनगरबाट नयाँ दिल्ली र राति ९ः३० बजे नयाँ दिल्लीबाट लखनउ हवाई जहाजमा ल्याइने मन्त्री राणाको सचिवालयले बताएको छ । त्यस्तै, लखउनबाट नेपालको बोर्डरसम्म एम्बुलेन्समा ल्याउने व्यवस्था गरिएको हो ।
दिल्लीबाट लखनउको उडानका लागि उनीहरुलाई सहजीकरण गर्न दिल्ली विमानस्थलमा नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट दुई जना कर्मचारी खटाइएको छ ।
त्यसैगरी सुनौली बोर्डरबाट बुटवल घरसम्म नै उनीहरूलाई पुर्याउने व्यवस्थाका लागि पनि मन्त्री डा राणाले गृहमन्त्री रमेश लेखकसँग कुराकानी गरेका छन् ।
घटनास्थलमा रहेका सुदीपका आफन्तहरुले त्यहाँ बस्न सक्ने अवस्था नरहेकाले आजै फर्किने वातावरण मिलाउन मन्त्रालयसँग समन्वय गरेको थियो ।
सुदीप वुटवल–११, कालिकानगर रुपन्देही निवासी हुन् ।