कांग्रेसले भन्यो- नारायणहिटीमा राजा फर्काउन चिना नहेरे हुन्छ

शुक्रबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्ने क्रममा प्रमुख सचेतक श्यामकुमार घिमिरेले राजसंस्थाका पुनस्थापनका लागि गरिएका सबै टिप्पणी व्यर्थ हुने बताए ।


१२ वैशाख, काठमाडौं ।  सत्तारुढ दल नेपाली कांग्रेसले राजसंस्था पुनस्थापनाको अभियान बोकेर हिंड्नेहरूलाई सपना नदेख्न आग्रह गरेको छ ।

शुक्रबार प्रतिनिधिसभामा पार्टीको तर्फबाट बोल्ने क्रममा प्रमुख सचेतक श्यामकुमार घिमिरेले राजसंस्थाका पुनस्थापनका लागि गरिएका सबै टिप्पणी व्यर्थ हुने बताए ।

साथै, कांग्रेसले चिना टिप्पण नहेर्न पनि आग्रह गरेको छ ।

‘कसैले आन्दोलन गरेर नारायणहिटीमा राजालाई पुर्‍याएर यो देशको कल्याण हुन्छ भन्ने सपना नदेखे हुन्छ,’ चिना टिप्पण नहेरे हुन्छ । त्यसका लागि गरेका सम्पूर्ण टिप्पणी व्यर्थ हुनेछन् ।’

नेपाली कांग्रेसलाई कसैले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पाठ पढाउन आवश्यक नभएको उनको भनाइ छ ।

‘संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको अडान नछाडेको नेपाली कांग्रेसलाई कसैले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको पाठ पढाउन पर्दैन,’ प्रमुख सचेतक घिमिरेले भने, ‘नेपाली कांग्रेसले आफ्नो मार्गचित्र त्यसै बदलिएको हैन । नेपालको राजतन्त्रको अभिषप्त इतिहासलाई उल्ट्याएको मात्रै हो ।’

सम्बोधनको क्रममा उनले नेपालको राजतन्त्रमा संवैधानिक भइ बस्ने स्वभाव नै नभएको बताए ।

‘राजामा रहेको राजकीय अधिकारको दम्भ एवं शासन गर्ने तीव्र आकांक्षाले आज मुलुकलाई गणतन्त्रमा पुर्‍यायो । नेपाली कांग्रेसलाई दिशा बदल्न बाध्य पारियो,’ घिमिरेले भनेका छन्, ‘यसको लागि नेपालको राजतन्त्र आफैं दोषी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *