शिक्षामन्त्री पन्त शिक्षक महासंघका नेतालाई वार्ता गर्न मन्त्रालयमा कुरेको कुर्यै
शिक्षक महासंघले नै उपलब्ध गराएको नाम अनुसार नै सिंहदरबारको गेटमा २५ जनाको नाम टिपाइएको मन्त्रालयले जनाएको छ

१२ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त नेपाल शिक्षक महासंघका नेतासँग वार्ता गर्न मन्त्रालयमा कुरेको कुर्यै भएका छन् । शुक्रबार तीन बजे वार्ताका लागि समय तय भएको थियो । तर शिक्षक महासंघका नेताहरू मन्त्रालय नगई फर्किएका छन् ।
‘म उहाँहरूलाई कुरेर बसेको थिएँ । केही आउनु भयो । केही आउनु भएन । गेटमा रोकियो भने पनि सहसचिवलाई नै लिन गेटमा पठाएको हुँ,’ मन्त्री पन्तले भने, ‘मन्त्रालयमा कुरेर बसेँ । कुरेरै बसेको छु । गेटमै आउनु पर्छ भने पनि आउँछु भनेको हुँ । तर कतिपय भित्र आउनु भएको पनि फर्किनु भयो ।’
शिक्षक महासंघले नै उपलब्ध गराएको नाम अनुसार नै सिंहदरबारको गेटमा २५ जनाको नाम टिपाइएको मन्त्रालयले जनाएको छ । २५ जनाको टोलीको नाम सामाजिक सञ्जालमा सार्वजनिक भएपछि शिक्षकको टोली वार्तामा नगई फर्किएको पाइएको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी भने २५ जनाको नामावली महासंघले नदिएको बताउँछन् ।
‘शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली शिक्षक महासंघले तयार नगरेको ब्यहोरा जानकारी गराउँछौं,’ अध्यक्ष सुवेदीले भने ।
मन्त्रालयले २५ जनाको सूची मन्त्रालयबाट सार्वजनिक नभएको स्पष्ट पारेको छ । ‘उहाँहरूले दिएको नाम गेटमा पठाइएको हो । सामाजिक सञ्जालमा मन्त्रालयले सार्वजनिक गरेको होइन,’ मन्त्री पन्तले भने ।
वार्ताबाट नै शिक्षकको माग सम्बोधन गर्न सरकार तयार रहेको मन्त्री पन्तले बताए । ‘अदालतको पनि आदेश आएको छ । वार्ताबाट नै समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ । त्यही अनुसार मैले प्रयत्न गरेको हुँ । वार्ताका लागि आज(भोलि जतिबेला पनि तयार छु,’ उनले भने, ‘ऐन कानुन र अर्थतन्त्रले धान्ने अनुसार कार्यान्यवन गर्ने हो । जे सहमति हुन्छ जिम्मेवार भएर हुन्छ । कार्यान्वयन गर्ने गरी हुन्छ ।’
सर्वोच्च अदालतले विद्यार्थीको पठनपाठन सञ्चालन गर्नेगरी तीन दिनभित्र शिक्षकको माग सम्बोधन गर्न बिहीबार आदेश दिएको छ । सोही अनुसार मन्त्रालयले आज नै शिक्षकहरूलाई वार्तामा बोलाएको हो ।