हुथी लडाकुहरूलाई सहयोग गरेको भन्दै इरानलाई अमेरिकाको धम्की
हेगसेथले एक्सको पोस्टमा भनेका छन्, 'हामीले इरानले हुथी विद्रोहीलाई प्रदान गरिरेको समर्थन देखिरहेका छौं।

अमेरिकाले यमनमा हुथी विद्रोहीहरूलाई समर्थन गरेकोमा इरानले गम्भीर परिणाम भोग्नुपर्ने बताएको छ। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले बुधबार इरानलाई चेतावनी दिएका हुन्।
हेगसेथले डोनाल्ड ट्रम्पको पुरानो भनाइलाई पनि रिट्वीट गरेका थिए। ट्रम्पले हुथी विद्रोहीहरूले गरेको हरेक आक्रमणको जिम्मेवार इरान हुने सामाजिक सञ्जाल एक्समा लेखेका थिए।
हेगसेथले एक्सको पोस्टमा भनेका छन्, ‘हामीले इरानले हुथी विद्रोहीलाई प्रदान गरिरेको समर्थन देखिरहेका छौं। हामीलाई इरान के गर्दैछ भन्ने कुरा राम्ररी थाहा छ। अमेरिकी सेनाले के गर्न सक्छ भन्ने कुरा राम्ररी इरानलाई पनि जानकारी छ। अब इरानले अमेरिकाले रोजेको समय र स्थानमा त्यसको परिणामहरू भोग्नुपर्नेछ।’
अमेरिकाले हालै उत्तरी यमनलाई नियन्त्रण गर्ने हुथी विद्रोहीहरू विरुद्ध सैन्य आक्रमण तीव्र बनाएको छ।
मार्चदेखि अमेरिकी सेनाले हुथी लडाकुहरूको नियन्त्रणमा रहेका १,००० भन्दा बढी स्थानहरूलाई निशाना बनाएको छ।
हुथी विद्रोहीहरूले पछिल्लो समय प्यालेस्टिनीहरूसँग ऐक्यबद्धता जनाउँदै लाल सागरमा धेरै मालवाहक जहाजहरूलाई निशाना बनाएका छन्।
हुथी विद्रोहीलाई समर्थन गरेको इरानद्वारा अस्वीकार
इरानले भने आफूले हुथी विद्रोहीहरूलाई समर्थन गरेको कुरा निरन्तर अस्वीकार गर्दै आएको छ। इरानले हुथी लडाकुहरू स्वतन्त्र रूपमा सञ्चालन हुने बताएको छ। यद्यपि अमेरिकी अधिकारीहरूले धेरै पटक इरानी सेनाले हुथी लडाकुहरूलाई आवश्यक सैन्य सहयोग र रणनीतिक समर्थन प्रदान गरेको आरोप लगाएका छन्।
अमेरिकाले हुथी विद्रोही विरुद्ध कारबाही चलाउँदै
डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि पहिलो पटक मार्च १५ मा अमेरिकी सेनाले यमनमा हुथी विद्रोहीहरूमाथि हवाई आक्रमण गर्यो। आक्रमणमा ३१ जनाको मृत्यु भयो। यसमा हुथी विद्रोहीसँगै महिला र बालबालिका पनि थिए। उक्त आक्रमणमा १०१ जना घाइते भएका थिए।
यस हमलाको बारेमा सामाजिक सञ्जालमा ट्रम्पले हुथी आतंककारीहरूको समय सकिएको जनाएका थिए।
त्यसबेलादेखि अमेरिकाले यमनमा हुथी विद्रोहीहरूमाथि निरन्तर आक्रमण गरिरहेको छ। १० दिनअघि गरिएको हवाई आक्रमणमा ७४ जनाको मृत्यु भएको थियो भने १०० भन्दा बढी घाइते भएका थिए।
यो हवाई हमला तेल बन्दरगाह रास इसामा भएको थियो। अमेरिकी केन्द्रीय कमान्डले हमलाको पुष्टि गर्यो तर हताहतको सही संख्या भने दिएन।