एसपी थापाद्वारा मुख्य योजनाकारसँग भेटेको स्वीकार : भैंसेपाटी हनीट्र्याप प्रकरण


१० मंसिर, काठमाडौं । प्रहरी प्रभाग भैंसेपाटीकी तत्कालीन इन्सपेक्टर बिनु कुमारी शाहीसहित ६ जनाविरुद्ध युवती प्रयोग गरेर एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाउन खोजेको आरोपमा मुद्दा दायर भएको छ ।

आइतबार जिल्ला अदालत ललितपुरमा ‘भैंसेपाटी हनीट्र्याप प्रकरण’का रुपमा चर्चित यो घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रतिवेदनका आधारमा मुद्दा दायर भएको हो । यो घटनामा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले आपराधिक लाभ र संगठित अपराधको कसुरमा ६ जनालाई प्रतिवादी बनाएको छ ।

तत्कालीन इन्सपेक्टर बिनु शाही र दर्शन पोखरेललाई फरार प्रतिवादी बनाइएको छ । भैंसेपाटीकै सहायक हवल्दार महेन्द्र हमाल, सुनसरीको इटहरीका सुष्मा विक, ताज स्लाम र भीमादेवी थापा पक्राउ परेका छन् । अनुसन्धानका क्रममा एसपी कमल थापा समेत मुछिएको पाइएपछि थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो ।ताज स्लाम घटनाको मुख्य योजनाकार रहेको प्रहरीको भनाइ छ ।

तर, सीआईबीले भने एसपीमाथि अनुसन्धान जारी रहेको भन्दै उनलाई मुद्दा चलाउन सिफारिस नगरिएको सीआईबीले बताए ।

घटनामा मुछिएको आरोप लागेका एसपी थापाले भने घटनाका मुख्य योजनाकारसँग भेटेको स्वीकार गरेका छन् ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको एक रेष्टुरेन्टमा एसपी थापा र ताजले भेटेको सीसीटीभी फुटेज उनलाई देखाएर सीआईबीले बयान लिएको थियो । त्यसपछि एसपी थापाले ताजलाई भेटेको स्वीकार गरेका हुन् । ७ असोजको साँझ साढे ६ बजेदेखि करिब आधा घण्टा भेटेको उनिहरुको फुटेज सीआईबीले प्राप्त गरेको थियो ।

एसपी थापाले घटनाका मुख्य योजनाकार ताजसँग भेटेको विषय समेत स्वीकार गरेका छन् । भैंसेपाटीमा उजुरी पर्नुअघि फोन सम्पर्क हुनु र काम भइसकेपछि पनि रेष्टुरेन्टमा आधा घण्टासम्म कुराकानी हुन शंकास्पद देखिएको भन्दै अनुसन्धान अघि बढाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *