१८ वर्षीया शाह स्नातक प्रथम वर्षमा अध्ययरत् विद्यार्थी थिइन् । उनको मृत्यु भएको खबर पाएलगत्तै भुवनेश्वर प्रहरीका उच्च अधिकृतहरू केआईआईटीमा पुगेका थिए भने फरेन्सिक टोली समेत पुगेको थियो ।
त्यसपछि शवलाई अस्पताल पठाइएको थियो भने घटनास्थलाई प्रहरीले सुरक्षित साथ राखेको भनिएको छ ।
ओडिसाको ओटीभीसँग कुरा गर्दै भुवनेश्वरका पुलिस कमिश्नर देवदत्त सिंहले ७ बजे नियमित हाजिरीका लागि होस्टल कर्मचारी जाँदा उनको कोठाबाट आवाज नआएको भनेका छन् ।
‘त्यसपछि चेक गर्दा झुण्डिएको अवस्थामा भेटिएको पाइएको छ, हामीले लगत्तै जाँचका लागि वैज्ञानिक टिम पनि पठाएका थियौं,’ उनले थपे, ‘कोठा खनतलासी लियौं, बेडदेखि टेबलसँग सबै कुराहरू हेर्यौंं । डायरी लगायतका सामग्री समेत बरामद गरेका छौं ।’
प्रहरीले थप अनुसन्धान र कारबाही गरिरहेको उनले बताएका छन् । सिंहले प्रहरीले तटस्थ र निष्पक्ष अनुसन्धान गर्ने भन्दै उनले भने, ‘कलेज पनि शान्त र प्रहरीलाई सबैले सहयोग गरिदिनु हुन अनुरोध छ ।’
यसअघि ४ फागुनमा केआईआईटीमै नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको थियो । उनले आफूलाई एक जना युवकले मानसिक यातना दिइरहेको भन्दै कलेज पटकपटक उजुरी दिएकी थिइन्, तर सुनुवाइ नभएपछि अन्तिममा ज्यान गुमाउन बाध्य भइन् ।
घटनाको निष्पक्ष अनुसन्धानको साटो शान्तिपूर्ण प्रदर्शन गर्न खोज्ने विद्यार्थीलाई उल्टै दमन गरेपछि कलेजको आलोचना समेत भएको थियो । पछि यो मामलामा निष्पक्ष जाँचका लागि नेपालले कुटनीतिक पहल समेत गर्नुपरेको थियो ।
त्यो घटनामा लम्साललाई यातना दिने वीटेक तेस्रो वर्षका विद्यार्थी अड्विक श्रीवास्तव पक्राउ समेत परेका थिए ।