इण्डियन आइडल पवनदीप कार दुर्घटनामा गम्भीर घाइते
भारतीय सञ्चार माध्यमका अनुसार हाल उनको उपचार दिल्लीको फोर्टिस अस्पतालमा भइरहेको छ र उनको अवस्था स्थिर छ ।

२३ वैशाख, काठमाडौं । इण्डियन आइडल पवनदीप राजन कार दुर्घटनामा गम्भीर घाइते भएका छन् । उत्तर प्रदेशको अमरोहामा उनी सवार कार दुर्घटना भएको हो ।
भारतीय सञ्चार माध्यमका अनुसार हाल उनको उपचार दिल्लीको फोर्टिस अस्पतालमा भइरहेको छ र उनको अवस्था स्थिर छ ।
सोमबार उत्तराखण्डबाट दिल्ली जाँदै गर्दा पवनदीप र उनका दुई साथी सवार कार अनियन्त्रित भएर सडक किनारमा रहेको अर्को सवारी साधनमा ठोक्किएको थियो । पवनसँगै उनका दुई साथीहरु पनि घाइते छन् ।
उत्तरप्रदेशमा प्रारम्भिक उपचारपछि उनीहरु तिनै जनालाई उपचारका लागि दिल्ली लगिएको थियो ।
उत्तराखण्डको चम्पावत जिल्लाका पवनदीप राजनले इण्डियन आइडल सिजन १२ को उपाधि जितेका थिए । केही वर्षअघि उनले काठमाडौंमा पनि सांगीतिक प्रस्तुति दिएका थिए ।