इजरायलले गाजामाथि पूर्ण रूपमा कब्जा गर्ने
इजरायली अधिकारीहरूले गाजामा आक्रमण गर्नुको पछाडि दुई उद्देश्य रहेको बताएका छन्।

इजरायली सेनाले गाजामा सैन्य कारबाहीलाई अझ तीव्र बनाउने जनाएको छ। इजरायलको युद्ध मन्त्रिपरिषद्ले उक्त निर्णयलाई अनुमोदन गरेको छ। यसमा गाजालाई पूर्ण रूपमा ‘कब्जा’ गर्ने र सम्पूर्ण क्षेत्र नियन्त्रणमा लिने योजना समावेश छ।
अर्को हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणपछि मात्र उक्त निर्णय लागू हुने जनाइएको छ। त्यतिन्जेलसम्म इजरायलले हमाससँग युद्धविराम र बन्धक सम्झौतामा पुग्ने प्रयास जारी राख्नेछ।
इजरायली सेना प्रमुख इयाल जामिनले गाजामा कारबाहीलाई तीव्र बनाउने चेतावनी दिएका छन्। उनले यो कारबाहीले गाजामा बन्धक बनाइएकाहरूको जीवन खतरामा पार्न सक्ने पनि बताएका छन्। यद्यपि उनले नयाँ योजनाले हमासविरुद्ध अझ शक्तिशाली आक्रमण गर्न र बाँकी बन्धकहरूलाई फिर्ता ल्याउन मद्दत गर्ने बताए।
इजरायली अधिकारीहरूले गाजामा आक्रमण गर्नुको पछाडि दुई उद्देश्य रहेको बताएका छन्।
पहिलो उद्देश्य हमासलाई परास्त गर्नु र दोस्रो उद्देश्य बन्धक बनाइएकाहरूलाई बचाउनु हो।
हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेर २५० भन्दा बढी इजरायलीहरूलाई बन्धक बनाएको थियो। बन्धकहरूको रिहाइपछि अब हमाससँग ५९ जना इजरायली बन्धकहरू छन्, जसमध्ये ३५ जनाको मृत्यु भइसकेको छ।
इजरायलको युद्ध मन्त्रिपरिषद्ले गर्यो गाजा कब्जा गर्ने योजनालाई अनुमोदन
इजरायलको युद्ध मन्त्रिपरिषद्ले हमास विरुद्धको सैन्य आक्रमण विस्तार गर्ने योजनालाई अनुमोदन गरेको छ। उक्त योजनामा गाजा कब्जा गर्ने विषय पनि समावेश छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले मन्त्रिपरिषद्ले हमासलाई नष्ट गर्न र बाँकी रहेका बन्धकहरूलाई उद्धार गर्न बलियो कारबाही सुरु गर्ने निर्णय गरेको बताए।
नेतान्याहूले गाजाको २१ लाख जनतालाई सुरक्षाको लागि सारिने बताए।
मन्त्रिपरिषद्ले निजी कम्पनीहरू मार्फत सहयोग प्रदान गर्ने योजनालाई पनि सैद्धान्तिक स्वीकृति दिएको छ।
यसले गाजामा लगाइएको दुई महिनादेखिको नाकाबन्दी सकिने छ। संयुक्त राष्ट्रसंघले गाजामा खाद्यान्नको गम्भीर अभाव भएको बताएको छ।