पहलगाम आक्रमणको १५ दिनपछि पाकिस्तानमा भारतको मिसाइल हमला, कम्तिमा ३० जनाको मृत्यु

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भारतीय हवाई आक्रमणमा मस्जिदसहित धेरै ठाउँहरूलाई निशाना बनाइएको बताएका छन्।


२४ वैशाख, काठमाडौं । भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा हवाइ हमला गरेको छ।

पहलगाम आक्रमणको १५ दिन पछि उक्त हवाई हमला गरेको हो। बुधबार राति करिब १.३० बजे बहावलपुर, मुरिदके, बाग, कोटली र मुजफ्फराबादमा ‘अपरेशन सिन्दूर’ अन्तर्गत आक्रमण गरिएको भारतले जनाएको छ।

भारत सरकारले जारी गरेको बयानमा भनिएको छ, ‘यस अपरेशनमा पाकिस्तान र पाकिस्तानद्वारा कब्जा गरिएको कश्मिरमा रहेका आतंकवादी संरचनालाई निशाना बनाइएको छ, जहाँबाट भारतमाथि आतंकवादी हमलाको योजना बनाएर कार्यान्वयनमा ल्याइएको थियो ।’

भारतीय अनलाइन द भाष्करका अनुसार भारतले आतंकवादीहरुलाई लक्षित गरी मुजफ्फराबाद, बाघ, गुलपुर, कोटली, भीमबेर, सियालकोट, मुरिदके, चक अमरु र बहावलपुरमा एयरस्ट्राइक गर्दा ३० जनाको मृत्यु भएको जनाएको छ ।

आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको पाकिस्तानको दाबी 

पाकिस्तानी सेनाले भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको जनाएको छ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भारतीय हवाई आक्रमणमा मस्जिदसहित धेरै ठाउँहरूलाई निशाना बनाइएको बताएका छन्।

शाहबाज शरीफले भने, ‘पाकिस्तानलाई यो बिना उक्साहटको भारतीय आक्रमणको निर्णायक जवाफ दिने पूर्ण अधिकार छ। सम्पूर्ण राष्ट्र आफ्नो सेनाको समर्थनमा छ। हाम्रो मनोबल र संकल्प अटल छ। हाम्रो प्रार्थना र शुभकामना पाकिस्तानका बहादुर अधिकारी र सैनिकहरूसँग छ।’

शाहबाज शरीफले पाकिस्तानका जनता र यहाँका सेना कुनै पनि खतराको सामना गर्न पूर्ण रूपमा तयार भएको पनि जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *