बाल मन्दिर प्रकरणः राई स्कुलका प्रिन्सिपल पाण्डेविरुद्ध पनि मुद्दा

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बुधबार जिल्ला अदालतमा उनीसहित १७ जनाविरुद्ध ठगी मुद्दा दायर गरेको छ ।


२४ वैशाख, काठमाडौं । नेपाल बाल मन्दिरको जग्गा भाडामा दिने प्रकरणमा अनियमितता भएको घटनामा राई स्कुलका प्रिन्सिपल कीर्ति पाण्डेविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बुधबार जिल्ला अदालतमा उनीसहित १७ जनाविरुद्ध ठगी मुद्दा दायर गरेको छ । राई वृहस्पति विद्यासदनमा समेत सञ्चालक छन् ।

काठमाडौं–३०, ज्ञानेश्वरमा बस्ने उनी भारतको कर्नाटक राज्यको बेडलोरका स्थायी वासी हुन् । यो मुद्दामा उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह पनि प्रतिवादी छिन् । उनी लामो समय बाल मन्दिरको नेतृत्वमा थिइन् ।

यो ठगीमा वृहस्पति विद्यासदनका सञ्चालकका रुपमा भारतीय नागरिकहरु सिद्धार्थ केडिया र अभिनव सिंघानिया पनि प्रतिवादी छन् । यो ठगी प्रकरणमा अनुसन्धान गरेर सम्झौता रद्द भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मुद्दा नचलाउने निर्णय गर्दै प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाएको थियो ।

तर, महान्यायाधिवक्ताको कार्यालयले मंगलबार मात्र मुद्दा चलाउने निर्णय गरेको थियो । लगत्तै उनीहरुविरुद्ध मुद्दा दर्ता भएको हो ।

नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को नाममा रहेको ११९ रोपनी १२ आना ३ पैसा जग्गामध्ये २८ रोपनी ५ आना १ पैसा हाल वृहस्पति विद्या सदनले भाडामा लिएको छ । वृहस्पतिले भाडामा लिएकोमध्ये ५ रोपनी जग्गा राई स्कुललाई २०७६ सालदेखि भाडामा दिएको थियो ।

२०५९ सालमा उक्त जग्गा २०८९ सालसम्म भाडामा लिनेदिने सम्झौता भए पनि उक्त अवधि सकिन १७ वर्ष बाँकी हुँदै २०७२ साल साउन ३ गते थप ३८ वर्षका लागि सो जग्गा वृहस्पति विद्या सदनले भोगचलन गर्न पाउने गरी सम्झौता भएको थियो ।

पछिल्लो सम्झौता अनुसार यो जग्गा वृहस्पति विद्या सदनले २१२७ सालसम्म उपभोग गर्न पाउने देखिएको छ । भाडादर प्रतिरोपनी ३ लाख ९३ हजार रुपैयाँका दरले २८ रोपनीभन्दा बढी जग्गाको वार्षिक भाडा १ करोड १० लाख रुपैयाँ लिने गरी नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्य र वृहस्पति विद्या सदनका तर्फबाट पुरुषोत्तमराज जोशीले सम्झौता गरेका थिए ।

यो प्रकरणमा अहिले मुद्दा दर्ता भएकी नेपाल बाल संगठनकी पूर्वअध्यक्ष रीता सिंह वैद्य नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी हुन् ।

चलनचल्तीको भाडाभन्दा कम दरमा भाडामा लिनेदिने सम्झौता गरेर ठगी गरेको भन्दै बाल संगठनका तर्फबाट परेको उजुरीमा सीआईबीले अनुसन्धान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *