राष्ट्रबैंकको गभर्नर चाँडो नियुक्त गर्न सांसद खतिवडाको माग
सांसद खतिवडाले राष्ट्रबैंक लामो समयदेखि नेतृत्वविहीन हुनु राम्रो नभएको भन्दै बेलैमा नियुक्त नगर्दा अनेक अड्कलबाजी चलिरहेको पनि बताए ।

२५ वैशाख, काठमाडौं । राष्ट्रबैंकमा गभर्नर रिक्त रहेको विषय बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि उठेको छ ।
प्रमुख सत्तासिन दलमध्येकै एक नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नेपाल राष्ट्रबैंकमा तत्काल गभर्नर नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सांसद खतिवडाले राष्ट्रबैंक लामो समयदेखि नेतृत्वविहीन हुनु राम्रो नभएको भन्दै बेलैमा नियुक्त नगर्दा अनेक अड्कलबाजी चलिरहेको पनि बताए ।
उनले आईपीओ निष्कासन स्वीकृतिका लागि धितोपत्र बोर्डका अध्यक्षले कमिसन माग्न लगाएको विषय बाहिरिएको भन्दै सरकारको जवाफसमेत माग गरे ।
‘धितोपत्र बोर्डको अध्यक्षको कमिसनको काण्ड बाहिर आएको छ । योबारे के हो सरकारले जवाफ दिनुपर्यो,’ उनले भने ।
सांसद् खतिवडाले आतंकवादविरुद्धको लडाईंमा जुनसुकै देशलाई पनि साथ दिनुपर्ने धारणा राखे । ‘आतंकवादविरुद्धको लडाईंमा हामीले जुनसुकै देशलाई पनि साथ दिनुपर्छ भनेर अनुरोध गर्न चाहन्छु,’ उनले भने ।