स्रोत नखुलेको ३५ लाख रुपैयाँसहित एकजना पक्राउ
लागुऔषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका–६ पोखरापालीस्थित घरमा छापा मारेर ३५ लाख ९९ हजार ८३५ नेपाली रुपैयाँसहित प्रेमनाथ बनियालाई पक्राउ गरेको हो।

परासी : जिल्ला प्रहरी कार्यालय नवलपरासीले स्रोत नखुलेको झन्डै ३६ लाख नगदसहित एक जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका–६ पोखरापालीस्थित घरमा छापा मारेर ३५ लाख ९९ हजार ८३५ नेपाली रुपैयाँसहित प्रेमनाथ बनियालाई पक्राउ गरेको हो।
उनको साथबाट नगदसहित ९ थान मोबाइल, विभिन्न नामका ६७ थान लागुऔषध एप्पुल र ट्याब्वलेट, सिरिञ्ज तथा ४९७ मिलिग्राम हिरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए।
छापा मार्ने क्रममा प्रहरीले टिनको ठूलो बाकसभित्र राखिएको कपडाको तल बाल्टी र झोलामा लुकाएर राखेको अवस्थामा रकम बरामद गरेको हो।