भारत–पाकिस्तान संघर्षमा चीनको लडाकु विमान प्रयोग
पाकिस्तानले चीनबाट प्राप्त J–10C लडाकु विमान (फाइटर जेट)ले भारतसँगको लडाइँमा महत्वपूर्ण भूमिका खेलेको द टेलिग्राफले दाबी गरेको छ ।

२९ वैशाख, काठमाडौं । भारत र पाकिस्तानबीचको पछिल्लो संघर्षमा चीनमा निर्मित लडाकु विमान पनि प्रयोग भएको पाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
पाकिस्तानले चीनबाट प्राप्त J–10C लडाकु विमान (फाइटर जेट)ले भारतसँगको लडाइँमा महत्वपूर्ण भूमिका खेलेको द टेलिग्राफले दाबी गरेको छ ।
युद्धग्रस्त क्षेत्रमा खसेका र टेलिभिजन एवम् सामाजिक सन्जालमा साझा गरिएका लडाकु विमानका टुक्राहरु हेर्दा चीनमा निर्मित J-10C विमानले बोक्ने मिसाइल पीएल–१५ भएको पुष्टि हुन्छ ।
पाकिस्तानी विदेशमन्त्री इशाक डारले पनि संसदमा यसबारे बोलेका थिए । उनले भनेका थिए, ‘हाम्रा J–10C लडाकु विमानहरूले तीनवटा भारतीय राफाल विमानहरू खसालेका छन् ।’ उनले पाकिस्तानको सफलता देखेर छिमेकी चीन खुसी भएको अभिव्यक्तिसमेत दिएका थिए ।
भारतले राफाल लडाकु विमानहरु पाकिस्तानले खसालेको भन्ने दाबी पुष्टि गरेको छैन । यदि यो पुष्टि भएमा हालसम्मकै उन्नत प्रविधियुक्त भनिएको राफेल विमान युद्धमा खसालिएको पहिलो घटना हुनेछ ।
सीएनएनका अनुसार फ्रान्सका एक गुप्तचरले भने भारत–पाकिस्तान लडाइँमा कम्तिमा एउटा राफाल विमान नष्ट भएको बताएका छन् ।
यद्यपि चिनियाँ विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै भारत–पाकिस्तानबीचको युद्धमा आफ्ना लडाकु विमान प्रयोग भए/नभएको थाहा नभएको जनाएको छ ।
एक अमेरिकी अधिकारीले भने रोयटर्सलाई बताए अनुसार उच्च आत्मविश्वासका साथ चीनमा निर्मित J-10C विमानले दुई भारतीय लडाकु विमानलाई आकासबाट आकासमै मिसाइलमार्फत् गोली हानेको बताएका छन् । यसबाट पनि राफाल लडाकु विमान पहिलोपटक क्षति भएको भन्ने दाबीसँग मेल खान्छ ।
चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सका पूर्वसम्पादक हुई जिन्सिनले भारत पाकिस्तान बीचको अहिलेको लडाइँले रुस र फ्रान्सको स्तरलाई पनि पार गरिसकेको दाबी गरेका छन् ।
यद्यपि रक्षा विश्लेषकहरुले भने फ्रान्समा निर्मित राफाल लडाकु विमानलाई चीनमा निर्मित विमानले खसालेको भनेर निष्कर्ष निकाल्नुअघि सावधान हुनुपर्ने बताएका छन् । यसमा पाइलटको त्रुटिको पनि कारण हुनसक्ने भन्दै त्यसलाई नहेरी निष्कर्ष निकाल्न हतार गर्न नहुने उनीहरुको भनाइ छ ।