शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ
बस्नेत राजावादीले आयोजना तीनकुने प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न थिए ।

२८ वैशाख, काठमाडौं । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन् ।
सुकेधाराबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
बस्नेत राजावादीले आयोजना तीनकुने प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न थिए ।
उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भए पनि फरार भएका थिए ।
तीनकुने घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईंलगायत राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत व्यक्तिहरू यसअघि नै पक्राउ परिसकेका छन् ।
राजावादीले गरेको उक्त प्रदर्शनका क्रममा एक जना पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो । साथै, सरकारी कार्यालय र गाडीमा आगजनी, निजी सम्पत्तिमा तोडफोड र लुटपाट भएको थियो ।