जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन राजावादीको आह्वान
आइतबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा, नेपालका अध्यक्ष कमल थापा लगायतको उपस्थिति थियो ।

२८ वैशाख, काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गते काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन उपत्यका बाहिरका जनतालाई पनि आह्वान गर्ने निर्णय गरेको छ ।
आइतबार समितिका संयोजक नवराज सुवेदीको संयोजकत्वमा बसेको बैठकले सो दिनको प्रदर्शनमा सहभागी हुन उपत्यका बाहिरका जनतालाई पनि आह्वान गर्ने निर्णय गरेको हो
आइतबारको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा, नेपालका अध्यक्ष कमल थापा लगायतको उपस्थिति थियो ।
जनआन्दोलन समितिले यसअघि नै जेठ १५ गते काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरिसकेको थियो । उक्त दिनको आन्दोलन सफल बनाउन आवश्यक कार्यक्रम तय गर्न आइतबार बैठक बसेको जनाइएको छ ।
‘जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन काठमाडौं बाहिरका जनतालाई काठमाडौं आउन आह्वान गर्ने,’ आइतबारको बैठकले गरेको निर्णयमा भनिएको छ, ‘काठमार्डौका जनता र सबै वर्ग, पेशा र समुदायलाई सक्रिय सहभागीताका लागि आह्वान गर्ने ।’
उक्त दिनको आन्दोलन पूर्णतया शान्तिपूर्ण रहने समितिले बताएको छ ।
त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगलाई आफूहरूको प्रदर्शनको अनुगमन गर्न आग्रह गर्ने निर्णय पनि भएको संयोजक सुवेदीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै, विचार र अभिव्यक्ति स्वतन्त्रता निषेध गर्न कानुन बनाउने सरकारको तयारीको विरोध गर्ने निर्णय पनि भएको छ ।
बैठकले तीनकुने घटनाको सन्दर्भमा पक्राउ परेकाहरूलाई तत्काल रिहाइको माग गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा सुवेदीले राजसंस्था फर्काउने अभियानको वातावरण अनुकूल बन्दै गएको ब्रिफिङ गरेका थिए ।
‘वातावरण अत्यन्त अनुकूल भएको छ । अब सबै मिलेर आन्दोलन सफल बनाउनु पर्दछ । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य पुनस्र्थापना हुने संभावना बलियो भएको छ,’ सुवेदीले भनेका छन् ।