पन्थीविरुद्ध मोरङ जिल्ला अदालतले २०८१ जेठ ३२ गते पक्राउ आदेश जारी गरेको थियो । अदालतले २०८१ जेठ १२ गते जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी उपस्थित गराइदिन भनेको थियो । त्यसपछि २०८१ साउन ६ गते काठमाडौं प्रहरी परिसरले पन्थी रुपन्देही जिल्ला प्रहरी कार्यालयको मातहत बस्ने गरेको भन्दै उनीहरुलाई फेला पारेमा जिल्ला अदालत मोरङमै पठाइदिन भनेको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सोही पत्रमा इलाका प्रहरी कार्यालय बुटवलमा लेखी पठाउन तोक आदेश गरेको थियो ।
यसरी प्रदेश सभा सदस्य पन्थीलाई पक्राउ गर्ने सम्बन्धी पत्र पछिल्लो एक वर्षमा प्रहरी युनिटमा घुमिरहेको छ । तर पन्थीसम्म प्रहरी पुगेको छैन ।
के हो विवाद ?
कपिलवस्तु वाणगंगा नगरपालिका राजपुर स्थायी ठेगाना भएका पन्थी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १(१) बाट निर्वाचित एमाले सांसद हुन् । उनले कांग्रेस उम्मेद्वार डोलकराम घिमिरेलाई पराजित गरेका थिए ।
पन्थी गौतमबुद्ध हाइड्रोपावर प्रा.लि. काठमाडौंका सञ्चालक मध्ये एक हुन् । उनीसँगै देवराज खनालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ ।
गौतमबुद्ध हाइड्रोपावरलाई विराटनगरको पल्लवी इलेक्ट्रा प्रा.लिले विद्युतीय सामग्री उधारोमा उपलब्ध गराएको थियो तर तिरेनन् । कारोबार गर्ने क्रममा २०७३ सालमै गौतमबुद्ध हाइड्रो पावर प्रा.लि.ले १८ लाख ५४ हजार रुपैयाँको सामान लगेको थियो । सोमध्ये पल्लवी इलेक्ट्रा प्रा.लिलाई ५ लाख रुपैयाँ दिएको थियो ।
बाँकी रकम नदिएपछि जिल्ला अदालत मोरङमा पल्लवी कम्पनीले २०७५ चैत ११ गते मुद्दा दर्ता गरेको थियो । २०७७ साल मंसिर २३ गते जिल्ला अदालत मोरङका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले बाँकी रकम १३ लाख ५४ हजार रुपैयाँ भराउने फैसला गरेको थियो ।
फैसला कार्यान्वयन नगरेपछि पल्लवी कम्पनीले अदालतमा पुनः निवेदन दिएको थियो । निवेदनपछि गोरखापत्रमा २०८१ साल वैशाख १२ गते सूचना प्रकाशित गर्न पत्राचार गरेको थियो । जसमा १३ लाख ५४ हजार रुपैयाँ भुक्तानी गर्नका लागि १५ दिनभित्र अदालतमा आफैं आउने सूचना थियो ।
सो सूचना प्रकाशित भइसकेपछि पनि हाइड्रो कम्पनीका संचालकद्वय खनाल र पन्थी नआएपछि अदालतले जनही ६ महिना कैद गर्न आदेश भएको थियो । मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा २४४ अनुसार उनीहरुलाई कैद सजाय तोकिएको हो । सो दफामा बिगो वा जरिवाना बापत कैद गर्ने प्रावधान छ ।
पन्थी भन्छन्– प्रतिशोधपूर्ण छ
सांसद पन्थीले देवराज खनालले सञ्चालन गरेको कम्पनीमा आफू पनि सेयर सदस्य रहेको स्वीकार गरेका छन् । तर उनले आफूविरुद्ध मुद्दा दर्ता भएको र अदालतले फैसला गरेकोबारे ढिलो मात्र थाहा पाएको जिकिर गरे । उनले सोमबार बिहान कुरा गर्दै भने, ‘मुद्दा दर्ता भएको र फैसला भएको थाहै थिएन, हिजो मात्रै थाहा पाएँ ।’
आफूलाई किन प्रतिवादी बनाइयो भन्ने बुझ्न नसकेको उनले बताए । उनले यसमा प्रतिशोध साँधिएको आरोपसमेत लगाए ।
उनका अनुसार घाटामा रहेको यो हाइड्रो बन्द छ । लगानी पनि डुबेको उनले बताए । ‘त्यहाँ ५० औं जना सेयर सदस्य छन्, मेरो नाम राख्ने कुरा प्रतिशोधपूर्ण नै छ,’ उनले भने, ‘मुद्दा परेको कुनै प्रक्रियाका विषयमा जानकारी नै छैन ।’
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्री भने सांसद पन्थीविरुद्ध पक्राउ पूर्जी जारी भएको विषयमा आफूलाई जानकारी नभएको बताउँछन् । पाँच दिनअघि जिल्लाको कमाण्ड सम्हाल्न आएको बताउँदै उनले भने, ‘भर्खरै हाजिर भएको छु, म बुझ्छु के भएको रहेछ ।’