वाईसीएल पुनः जुर्मुराउने बेला आयो : प्रचण्ड

सुर्खेतको वीरेन्द्रनगरमा सोमबार वाईसीएल नेपाल कर्णाली प्रदेशको प्रथम सम्मेलन उद्घाटन गर्दै प्रचण्डले त्यसका लागि नै आफूले मर्निङ वाक अभियान चलाएको बताए ।


२९ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाईसीएल नेपाललाई पुनः संगठित गर्ने अभियानमा आफू रहेको बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा सोमबार वाईसीएल नेपाल कर्णाली प्रदेशको प्रथम सम्मेलन उद्घाटन गर्दै प्रचण्डले त्यसका लागि नै आफूले मर्निङ वाक अभियान चलाएको बताए ।

‘तपाईंहरूले देख्नुभएको छ, म बिहान बिहानै हिँड्ने गरेको छु । त्यो मर्निङ वाक होइन, त्यो युवाहरूलाई फेरि आन्दोलित गर्ने, वाईसीएललाई फेरि संगठित गर्ने महाअभियान हो,’ उनले भने ।

आजको समयको वाईसीएल नेपालले नयाँ क्रान्तिको तयारी थाल्नु पर्ने बताएका प्रचण्डले अभियानको तयारीको लागि लामबद्ध हुन्, फेरि एकचोटी जुर्मुराएर उठ्न आवश्यक रहेको बताए ।

‘नयाँ क्रान्तिको तयारीको निम्ति वाईसीएल नेपाल एकपटक फेरि जुर्मुराएर उठोस् भन्ने म चाहन्छु,’ उनले भने, ‘किनभने, वाईसीएलले फेरि एकपटक राष्ट्र र जनताको पक्षमा आफूलाई समर्पित गर्ने बेला आएको छ ।’

प्रचण्डले अभियानको क्रममा र जनसभाको लागि जिल्ला जिल्लामा जाँदा यसपटक वाईसीएल नेपाल सक्रिय हुन थालेको आफूले महसुस गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *