म्याद सकिएको ४७ लाख कोरोना खोप डेढ वर्षदेखि भण्डारणमा, विसर्जन गर्न सरकारलाई सकस
चीन सरकारले निःशुल्क दिएको उक्त खोप बुस्टर डोजका रूपमा प्रयोग गर्न नमिल्ने भएपछि सरकारले नष्ट गर्ने तयारी गरेको थियो ।

३१ वैशाख, काठमाडौं । कोरोना महामारीकालमा प्राणरक्षक साबित भएका खोपको ४७ लाख मात्राको म्याद सकिएको १५ महिना बितिसक्दा पनि सरकारले विसर्जन गर्न सकेको छैन ।
महालेखा परीक्षकको कार्यालयको ६२औं वार्षिक प्रतिवेदनले स्वास्थ्य सेवा विभागद्वारा उपलब्ध गराइएको अभिलेख अनुसार विभागमा २ लाख २ हजार भायल अनुदानमा प्राप्त खोप र स्वास्थ्य संस्थामा प्रयोगको क्रममा खेर गएको ४७ लाख ६१ हजार डोज खोपको म्याद सकिएको जनाएको छ ।
प्रतिवेदनले म्याद समाप्त भएको खोपको विसर्जनका लागि उचित व्यवस्थापन मिलाउन सुझाव समेत दिएको छ ।
चीन सरकारले दानमा दिएका सिनोभ्याक कम्पनीका ती खोप २०७८ साल चैत १२ र १४ गते नेपाल आइपुगेका थिए । फरक–फरक मितिमा उत्पादित ती खोपको प्रयोग हुन नसक्दा २०८० साल मंसिरदेखि पुसको दोस्रो सातासम्म म्याद सकिएको हो ।
चीन सरकारले निःशुल्क दिएको उक्त खोप बुस्टर डोजका रूपमा प्रयोग गर्न नमिल्ने भएपछि सरकारले नष्ट गर्ने तयारी गरेको थियो । तर साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा थन्किएको खोपको अझै व्यवस्थापन हुन सकेको छैन ।
प्रधानमन्त्री शेरबहादुर देउवाको समयमा चीन सरकारको दबाबकै कारण उक्त खोप स्वीकार गर्न नेपाल बाध्य भएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले त्यसबेला सिनोभ्याकको सट्टा फाइजरको खोप लगाउन सुझाव दिएको थियो ।
डब्लूएचओले सिनोभ्याक खोप बुस्टर डोजका लागि उपयुक्त नभएको भनेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले उक्त खोप नलगाउने निर्णय गरेको थियो ।
तत्कालीन समयमा अधिकांश नागरिकले खोपको विश्वसनीयतालाई हेरी मोडेर्ना, कोभिसिल्ड तथा फाइजर खोप लगाएका कारण सिनोभ्याक खोप प्रयोगमा आएन ।
जनस्वास्थ्य विज्ञ यति ठूलो मात्राको खोप खेर फाल्नु गम्भीर लापरबाही भएको बताउँछन् । अनुदानमा आएको खोप खेर मात्रै गएन, खोप भण्डारण र व्यवस्थापनका लागि राज्यको ढुकुटीबाट करोडौं रुपैयाँ खर्च भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयका अधिकारीले म्याद सकिएका खोप विसर्जन गर्ने विकल्पबारे छलफल भइरहेको बताउन थालेको पनि एक वर्ष बितिसकेको छ ।
मन्त्रालयले इँटा भट्टा र सिमेन्ट उद्योगहरूको उच्च तापक्रम र उच्च चापमा ती खोप नष्ट गर्ने विकल्पमा लामो समयसम्म प्रयास गरे पनि सफल हुन सकेको छैन ।