हावाहुरीका कारण नवलपरासीमा २ जनाको मृत्यु, तीनको अवस्था गम्भीर
कमजोर अवस्थामा रहेको प्रतीक्षालयको छत खस्न पुग्दा च्यापिएर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले बताए।
परासी : शुक्रबार दिउँसो आएको पानीसहितको हावाहुरीका कारण नवलपरासीमा दुई जनाको मृत्यु भएको छ। तीनको अवस्था गम्भीर छ।
दिउँसो साढे ४ बजे पानीसहित आएको हावाहुरीबाट जोगिन उनीहरू सुनवल नगरपालिका–७ स्थित प्रतीक्षालयमा बसेका थिए। हावाहुरीका कारण नजिकै रहेको रुख प्रतीक्षालयमा ढल्न पुगेको थियो।
कमजोर अवस्थामा रहेको प्रतीक्षालयको छत खस्न पुग्दा च्यापिएर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले बताए।
मृत्यु हुनेमा ३० वर्षीय मिरा बयम्बु र ४० वर्षीय दुर्गाबहादुर पुन रहेका छन्। गम्भीर घाइते हुनेमा ४० वर्षीय नरमती परियार, ५१ वर्षीय दुर्गेश्वर खाम्चा मगर र २२ वर्षीय अनिल थापा रहेका छन्। उनीहरू सबै सुनवल नगरपालिका–७ ज्यामिरेका हुन्। गम्भीर अवस्थामा रहेका घाइते सबैको देवदह मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।