सांसदले उठाए काभ्रेमा करेन्टले मजदुरको मृत्युको घटना : ‘उपेश परियारको हत्या भएको हो, दोषीलाई कारबाही होस्’

काभ्रेको धुलिखेलस्थित विद्युतको खम्बामा काम गरिरहेका बेला करेन्ट लागेर सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथाका २८ वर्षीय उपेश परियारको शनिबार ज्यान गएको थियो ।

४ जेठ, काठमाडौं । काभ्रेको धुलिखेलमा विद्युतको खम्बामा काम गरिरहेका बेला करेन्ट लागेर मजदुरको मृत्यु भएको विषय संसद्मा उठेको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै काभ्रेबाटै निर्वाचित माओवादी केन्द्रका सांसद सूर्यमान दोङ, रास्वपा सांसद शिव नेपाली, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही लगायतले यो विषय उठाएका हुन् ।

काभ्रेको धुलिखेलस्थित विद्युतको खम्बामा काम गरिरहेका बेला करेन्ट लागेर सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथाका २८ वर्षीय उपेश परियारको शनिबार ज्यान गएको थियो ।

नेकपा माओवादी केन्द्रका काभ्रेबाट निर्वाचित सांसद सूर्यमान दोङले प्राधिकरणको लापरबाहीले मजदुरको ज्यान गएको बताए ।

नेपाल विद्युत् प्राधिकरणमार्फत काभ्रेपलाञ्चोक वितरण केन्द्रद्वारा विस्तारित धुलिखेल नगरपालिका–७ जिल्ला प्रशासन कार्यालय अगाडिको विद्युतको खम्बामा काम गरिरहेका बेला परियारलाई करेन्ट लागेको थियो । प्राधिकरणले बिनासूचना बिजुली सप्लाइ गरेकाले करेन्ट लागेको हो ।

‘हिजो काभ्रेमा एकजना मजदुरको ज्यान गएको छ, विद्युत प्राधिकरणको जिल्ला कार्यालयले बिजुली बन्द गरेको सूचना दिए पनि अर्को सूचना नदिई बिजुली सप्लाइ गर्दा काम गरिरहेका मजदुरको ज्यान गयो,’ सांसद् तामाङले भने, ‘विद्युत प्राधिकरणको गैरजिम्मेवारीले एक मजदुरले ज्यान गुमाए । यसको सत्यतथ्य जाँच होस् ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले घटनाको छानविन गरी कारबाही गर्न माग गरे । ‘बिजुलीको पोलमा सुरक्षाका उपकरण बिना नै धेरै श्रमिकलाई खटाउने गरेकाले धेरैले ज्यान गुमाएका छन् । शनिबार काभ्रेमा त्यस्तै भयो । कुनै पनि सूचना नदिई प्राधिकरणले विजुली छोड्दा उनको ज्यान गयो । यो ज्यान प्राधिकरणले लिएको हो । तत्काल यसको छानबिन गरियास्,’ सांसद नेपालीले भने । उनले मृतक मजदुरका परिवारलाई राहत र क्षतिपूर्तिको पनि माग गरे ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले काभ्रेमा राज्यले मजदुरको हत्या गरेको बताए । ‘काभ्रेको घटना हत्या हो सभामुख महोदय, पोलमा मजदुर चढेका बेला बिना सूचना बिजुली छोड्नु भनेको हत्या नै हो,’ सांसद शाहीले भने, ‘यो घटनाको छानबिन होस् र जान मार्ने कसुरमा मुद्दा चलोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *