हुम्लामा लेदोसहितको पहिरोले जलविद्युत्‌मा क्षति, कुलो र खानेपानी बगायो

उच्च जोखिममा परेपछि ३२ जनालाई खुल्ला चौरमा सारेर त्रिपाल टाँगेर राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए ।

४ जेठ, हुम्ला। हुम्लाको नाम्खा गाउँपालिका–६ तिल गाउँ आसपास लेदोसहितको ठूलो पहिरोले १५ किलोवाटको जलविद्युत् भवन, मेसिन, कुलोमा समेत क्षति पुगेको छ ।

यस्तै पहिरोले करिब ४ सय रोपनीमा सिचाँई गर्ने कुलो र खानेपानी समेत बगाएको छ ।

१ जेठको राति ११ बजेदेखि आएको पहिराले केही बस्ती समेत उच्च जोखिममा परेको छ ।

उच्च जोखिममा परेपछि ३२ जनालाई खुल्ला चौरमा सारेर त्रिपाल टाँगेर राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । जसमा २१ महिला, ९ पुरुष र २ बालक छन् । यो गाउँमा ५० घरधुरी मध्ये १८ घरधुरी अहिले बसोबास गर्दै आएका थिए ।

घटनास्थलमा अहिले सशस्त्रको बीओपी हिल्साबाट वरिष्ठ हवल्दार लोकबहादुर बुढाको कमाण्डमा ७ जना र इलाका प्रहरी कार्यालयबाट प्रहरी हवल्दारको कमाण्ठमा ६ जना गरी १३ जनाको टोली खटिएको छ ।

नाम्खा–६ का वडाध्यक्ष पाल्जोर लामाले पनि के कति कारणले लेदोसहितको पहिरो आयो भन्ने यकिन नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *