घटनास्थल पुग्न सकेन निरीक्षण टोली, हाई अल्टिच्युडका कारण लिमीबाटै फर्कँदै

आइतबार जिल्ला प्रहरी कार्यालयबाट डीएसपीसहितको टोली तिलगाउँ जाने तयारीसहित निस्केको थियो ।

५ जेठ, काठमाडौं । हुम्लाको विकट क्षेत्र नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमताल फुटेर लेदोसहतिको पहिरो आएपछि जिल्लाबाट टोली घटनास्थलतर्फ खटिएको थियो ।

आइतबार जिल्ला प्रहरी कार्यालयबाट डीएसपीसहितको टोली तिलगाउँ जाने तयारीसहित निस्केको थियो । तर, उक्त टोली हाई अल्टिच्युडका कारण तिलगाउँ नपुगी फर्कने भएको हो ।

प्रहरीका डीएसपी शंकर पोखरेल, सशस्त्र प्रहरीका डीएसपी देवराज राईसहितको टोली आइतबार नै घटनास्थल जाने भन्दै गएको जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्स्पेक्टर तथा प्रवक्ता जंगबहादुर सिंहले बताए ।

घटनास्थल तिलगाउँको अवलोकन निरीक्षण र लिमीमा चौकी स्थापना गर्ने उद्देश्यसहित गएको टोली भने लिमीबाटै फर्कने भएको छ । लिमीमा चौकी स्थापना गरेर तिलगाउँ नपुग्दै सोमबार डीएसपीको टोली जिल्ला फर्कन लागेको हो ।

‘हाम्रो टोली हाई अल्टिच्युडका कारण माथि जान सकेन । चौकी स्थापना गरेर लिमीबाटै फर्कने भएको छ,’ इन्स्पेक्टर सिंहले  भने । उनका अनुसार लिमीबाट घटनास्थल तिलगाउँ पुग्न करिब ७ घण्टा माथि जानुपर्छ छ ।

१ जेठको राति दुई वटा हिम ताल फुटेर लेदोसहितको बाढी आएपछि तिलगाउँ जोखिममा परेको छ ।

अहिले १८ घरका ३२ जनालाई नजिकैको विद्यालयमा र खुला चौरमा त्रिपाल टाँगेर राखिएको छ । मानवीय क्षति नभए पनि बस्ती जोखिममा छ भने अन्य भौतिक क्षति समेत ठूलो भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *