मुम्बईले दिल्लीलाई हराएसँगै आइपीएल २०२५ को प्लेअफ समीकरण पूरा
नियमित कप्तान रहेका अक्षर पटेल फ्लुका कारण खेल खेल्न सकेका थिएनन्।
काठमाडौं : मुम्बई इन्डियन्सले डिल्ली क्यापिटल्सलाई हराएसँगै २०२५ को इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ समीकरण पूरा भएको छ। बुधबार वाङ्खडे स्टेडियममा भएको खेलमा मुम्बईले दिल्लीमाथि ५९ रनको जित निकालेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८० रन बनाएको थियो। मुम्बईले दिएको १८१ रनको विजय लक्ष्य पछाएको दिल्ली १८.२ ओभरमा अल आउट हुँदै १२१ रनमा सिमित बन्यो।
नियमित कप्तान रहेका अक्षर पटेल फ्लुका कारण खेल खेल्न सकेका थिएनन्। उनको अनुपस्थितिमा फास्ट टु पेल्सिसले टिमको नेतृत्व गरिरहेका थिए। पछिल्लो दुई दिन यता फ्लुका कारण अक्षर पटेल निकै बिरामी रहेका कारण उनले यो खेल खेल्न पाएका थिएनन्।
दिल्लीलाई सस्तैमा समेट्न मुम्बईका बलर जसप्रीत बुम्राह र मिचेल स्यान्टरले समान ३-३ विकेट लिए। ट्रेन्ड बोल्ट, दीपक चहार, विल ज्याक्स र कर्न शर्माले१-१ विकेट लिए। त्यसअघि ब्याटिङ गरेको मुम्बईका लागि सूर्यकुमार यादवले उत्कृष्ट पारी खेले। उनले ४३ बलमा सात चौका र चार छक्कासहित ७३ रनमा अविजित रहँदै टिमका लागि सम्मानजनक लक्ष्य बनाएका थिए।
ओपनिङमा आएका र्यान रिकेल्टोनले २५ रन बनाए। विल ज्याक्सले २१, तिलक वर्माले २७ रन बनाउँदा नमान धीर २४ रनमा अभिजित रहे।दिल्लीका लागि बलिङतर्फ मुकेश कुमारले सर्वाधिक दुई विकेट लिए । दुश्मनथा चमेरा, मुस्ताफीजुर रहमान र कुलदिप यादवले १-१ विकेट लिए।
मुम्बईसँग पराजित हुँदै दिल्लीले आफ्नो प्लेअफ सम्भावना सकाएको छ। बुधबारको यो खेल निकै महत्त्वपूर्ण थियो। यसअघि नै गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स ब्याङ्गलोर( आरसीबी) र पन्जाब किङ्स प्लेअफमा पुगिसकेका छन्। अब यी चार टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।