१५ जेठमा एमालेले सडक कब्जा गरेर गणतन्त्र जोगाइदिने

‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ ।

११ जेठ, काठमाडौं । राजावादीहरूले १५ जेठमा राजा फर्काउने आह्वानसहित आन्दोलन घोषणा गरेका छन् । ठिक त्यसै दिन सत्तारुढ नेकपा एमालेले उनीहरूसँग कार्यक्रम जुधाउने योजना बनाएको छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मनसाय नलुकाई पार्टी बैठकमा आइतबार यो कुरा राखे ।

उनले जेठ १५ गते दिउँसो ११ देखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने तर्कमात्रै गरेनन् । उनले कार्यकर्तालाई सोही अनुसार आवश्यक तयारी गर्न निर्देशन दिएका छन् ।

उक्त दिन दिउँसो ११ बजेदेखि २ बजेसम्मको आन्दोलनमा हस्तक्षेप गर्नेगरी तयारी गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टी पंक्तिलाई निर्देशन गरे ।

उनले यसबारेमा पार्टीले आवश्यक निर्देशन विस्तृतमा पछि दिने भन्दै उनले काठमाडौंमा एमालेको नियन्त्रणमा हुनुपर्ने बताए । ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ । कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छाडिदिनुस्,’ ओलीले भने ।

साथै, उनले एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको वडाध्यक्षहरूको भेलालाई आइतबार सम्बोधन गर्ने क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।

प्रशिक्षण सकिनासाथ १५ गतेका लागि तयारी थाल्न उनले कार्यकर्तालाई भनेका छन् ।

‘म साथीहरूलाई आग्रह गर्न चाहन्छु । निर्देशन पछि आउँछ । तपाईंहरू जस्तो जे गर्नुपर्छ तयारी हालतमा बस्नुहोला । जतिबेलासम्म प्रशिक्षण चल्छ प्रशिक्षणमा ध्यान दिनुस् । प्रशिक्षण सकिएपछि १५ गतेमा ध्यान दिनुस्,’ प्रधानमन्त्री ओलीले भने ।

साथै, उनले आन्दोलनमा कुनै पनि प्रोटोकल लागू नहुने तर्क पनि गरे । ‘आन्दोलनमा यो प्रोटोकल स्रोटोकलको कुरा हुँदैन । यहाँ सभा गर्ने, बैठक गर्ने ठाउँमा पो यता र यता छ । आन्दोलनमा पनि यता र यता हुन्छ र ? सबै एकैतिर,’ ओलीले भनेका छन् ।

राजावादीहरू कुनै महान् उद्देश्यका लागि नलडेको बताउँदै उनले सरकार मौन भएको बेलालाई फाइदा लिएर उनीहरू अनावश्यक फूर्ति गरिरहेको दाबी गरे ।

‘यिनीहरू कुनै महान उद्देश्यका लागि लडिरहेका छैनन् । साना स्वार्थका लागि सरकार अलि मौन बसेको, जनता अलि मौन बसेको अवस्था हो । त्यो अवस्थाको फाइदा लिएर यिनिहरूले अनावश्यक फूर्तिफार्ति देखाएका छन्,’ प्रधानमन्त्री ओलीले भने ।

‘त्यसकारण हामीले आफूलाई बुझ्नुपर्‍यो । आफूलाई चिन्नुपर्‍यो । आफूलाई त्यस अनुसार तयार राख्नुपर्‍यो । निर्देशन पछि आउला, १५ गतेका लागि भोलि उठ्नेबित्तिकै १५ गतेको तयारी थाल्नुस् । १५ गते के के गर्नुपर्छ भन्ने पार्टीले भन्छ,’ ओलीले भनेका छन् ।

सत्ता चलाइरहेका प्रधानमन्त्रीले जुनसुकै शान्तिपूर्ण विरोधका कार्यक्रमहरूलाई सहने, हिंसात्मक र अराजक क्रियाकलापलाई राज्यप्रशासनले रोक्ने तर्क गर्नुपर्ने थियो । तर उनले सिधै आफ्ना कार्यकर्तालाई भिड्न उक्साउने गरी अभिव्यक्ति दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *