अखिलको सबै कमिटीमा ३२ वर्षे उमेर हद लागू हुने
महासचिव शंकर पोखरेलले सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न विद्यार्थी इन्चार्ज किशोरबिक्रम मल्ललाई पत्र पठाएका छन् ।
१६ जेठ, काठमाडौं । अनेरास्ववियुको सबै तहका कमिटीमा ३२ वर्षे उमेर हद लागू हुने भएको छ । गत ११ जेठमा बसेको नेकपा एमाले सचिवालय बैठकले अनेरास्ववियुमा उमेर हदबारे निर्णय गरेको थियो ।
महासचिव शंकर पोखरेलले सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न विद्यार्थी इन्चार्ज किशोरबिक्रम मल्ललाई पत्र पठाएका छन् । उक्त पत्र बमोजिम यसै महिना हुने अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनबाटै उमेर हदको व्यवस्था लागू हुनेछ ।
‘यस सन्दर्भमा ३२ वर्ष उमेर नकटेका प्रतिनिधिहरु मात्र विधानको व्यवस्था अनुरुप पदाधिकारी तथा सदस्यका उम्मेदवार हुन पाउने वैधानिक व्यवस्था मिलाउने,’ पत्रमा भनिएको छ, ‘यस सम्बन्धी व्यवस्था संगठनका सबै तहका कमिटीहरूमा लागू हुने गरी विधानमा आवश्यक व्यवस्था मिलाउने ।’