सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीको सांसद पद निलम्बनको पत्र प्रदेश सभा पुग्यो
सोडारीविरुद्ध एक करोड ८ लाखको बिगो मागदाबी लिएर भ्रष्टाचार सम्बन्धी कसुरमा विशेष अदालतमा आरोपपत्र दायर गरेसँगै उनी प्रदेश सदस्य पदबाट स्वतः निलम्बनमा परेका छन् ।
२१ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारी सांसद पदबाट स्वतः निलम्बन भएको पत्र प्रदेश सभा सचिवालयमा आइपुगेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध एक करोड ८ लाखको बिगो मागदाबी लिएर भ्रष्टाचार सम्बन्धी कसुरमा विशेष अदालतमा आरोपपत्र दायर गरेसँगै उनी प्रदेश सदस्य पदबाट स्वतः निलम्बनमा परेका छन् ।
अब नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता समेत रहेका सोडारीको सांसद पद निलम्बन भएको पत्र सभामुख भीमबहादुर भण्डारीले प्रदेश सभाको बैठकमा पढेर सुनाउनेछन् । त्यसपछि भने प्रदेश सभा सदस्यको हैसियतमा उनले कुनै काम गर्न पाउने छैनन् भने प्रदेश सभा सचिवालयले तलब लगायतका सेवासुविधा पनि रोक्का गर्नेछ ।
प्रदेश सभाको बैठक अगामी २३ जेठमा बस्ने कार्यसूची रहेको छ । सभामुख भण्डारीले सोही बैठकमा सोडारी पदमुक्त भएको सूचना सुनाउने सभामुखको सचिवालयले जनाएको छ । प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीको प्रदेश सभा सदस्य पद निलम्बन सम्बन्धी पत्र पठाएको पुष्टि गर्दै प्रक्रियामा अघि बढेको बताएका छन् ।