त्रिवि उपकुलपति कार्यालय तोडफोड गर्ने विरुद्ध पर्‍यो जाहेरी

त्रिविले बुधबार तोडफोड गर्नेविरुद्ध सीसीटीभी फुटेजको आधारमा जाहेरी दिएको हो ।

२१ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राडा खड्ग केसीको कार्यकक्ष तोडफोड गर्नेविरुद्ध जाहेरी परेको छ । प्रहरी वृत्त कीर्तिपुरमा जाहेरी परेको हो ।

‘सीसीटीभी फुटेज हेरेर अनुसन्धान गर्नु भनेर जाहेरी परेको छ । फुटेज हेरेर तोडफोड गर्नेको पहिचान गरिरहेका छौँ,’ प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायव उपरीक्षक राजबाबु महर्जनले भने ।

प्रहरी वृत्त कीर्तिपुरले दोषीमाथि अनुसन्धान गरी कारबाही गर्नका लागि मंगलबार त्रिविसँग जोहरी मागेको थियो ।

त्रिविले बुधबार तोडफोड गर्नेविरुद्ध सीसीटीभी फुटेजको आधारमा जाहेरी दिएको हो ।अब प्रहरीले अनुसन्धान अगाढि बढाउने छ ।

यसअघि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न गृह प्रशासनलाई बुधबार नै आग्रह गरेको थियो ।

गत १४ जेठमा नेविसंघका नेता कार्यकर्ताले त्रिविमा तोडफोड गरेका थिए । मुलुकी अपराध संहिताले पनि सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई अपराध नै भनेको छ ।

सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई १ वर्षसम्मको कैद र १० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *