एलोन मस्कसँगको सम्बन्ध समाप्त भयो– ट्रम्प

एलोन मस्कले ट्रम्पको कर र खर्च नीतिको खुलेआम आलोचना गरेपछि उनीहरुबीच विवाद सुरु भएको हो।

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एलोन मस्कसँगको आफ्नो सम्बन्ध समाप्त भएको बताएका छन्।  एनबीसीसँगको अन्तर्वार्तामा मस्कसँगको घनिष्ठ सम्बन्ध समाप्त भएको हो भनेर सोधिएको प्रश्नमा ट्रम्पले भनेका छन्,‘हो, मलाई लाग्छ।’

त्यसपछि यो सम्बन्ध सुधार्न चाहनुहुन्छ भनेर सोधिएको अर्को प्रश्नमा उनले ‘होइन’ भनि जवाफ दिएका छन्। ट्रम्पको यो बयान सामाजिक सञ्जालमा ट्रम्प र मस्कबीचको झडपपछि आएको हो।

एलोन मस्कले ट्रम्पको कर र खर्च नीतिको खुलेआम आलोचना गरेपछि उनीहरुबीच विवाद सुरु भएको हो। धेरैजसो रिपब्लिकन नेताहरूले अझै पनि ट्रम्पलाई समर्थन गरेका छन्।

अमेरिकी उपाध्यक्ष जेडी भान्सले मस्कले अति प्रतिक्रिया जनाएकाले सम्भवतः उनलाई पार्टीमा पुनः भर्ना नगरिने जनाए। भान्सले एक पोडकास्टमा ट्रम्पमाथि मस्कको आक्रमण ठूलो गल्ती भएको पनि बताए।

मस्कले ट्रम्पको ‘बिग ब्युटिफुल बिल’ विधेयक कंग्रेसमा पारित हुँदै गर्दा यसको आलोचना गरिरहेका छन्। मस्कले विधेयक पारित भयो भने राष्ट्रिय घाटामा ट्रिलियन डलर थप्ने र डीओजीईको प्रमुखको रूपमा गरेको कामलाई कमजोर पार्ने बताए।

मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा यसलाई ‘घृणित घोटाला’ भनेका छन्। यद्यपि उनले ट्रम्पको नाम भने सिधै लिएनन्। तर ट्रम्पले मस्कको व्यवहारबाट निराश भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *