कञ्चनपुरमा प्रहरीका असईमाथि कुटपिट

डीएसपी बोहराले चन्दलाई कुटपिट गर्ने व्यक्तिको पहिचान भइसकेकाले उनलाई पक्राउ गरेर कानुनअनुसार कारवाही गरिने बताए ।

२७ जेठ, धनगढी । कञ्चनपुरमा नेपाल प्रहरीका एक असईमाथि कुटपिट भएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बेलौरी नगरपालिकाको पचुई प्रहरी चौकीका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) धीरबहादुर चन्दमाथि कुटपिट भएको हो ।

भिडियोमा एक व्यक्ति असई चन्दलाई लछारपछार गर्दै गरेको देखिन्छ । चन्दको कमिज समेत च्यातिएको छ ।  प्रहरी निरीक्षक चन्दमाथि कुटपिट भएको भिडियो सार्वजनिक भएपछि कञ्चनपुर प्रहरीले घटनाको अनुसन्धान अघि बढेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यांलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले प्रहरी चौकी पचुईका प्रमुख समेत रहेका चन्दमाथि कुटपिट गरिएको घटनाको अनुसन्धान अघि बढेको जानकारी दिए ।

डीएसपी बोहराले चन्दलाई कुटपिट गर्ने व्यक्तिको पहिचान भइसकेकाले उनलाई पक्राउ गरेर कानुनअनुसार कारवाही गरिने बताए ।

प्रहरीकाअनुसार चन्दमाथि केही दिन अगाडिमात्रै प्रहरी चौकी नजिकै दिउँसोको समयमा हातपात गर्दै कुटपिट भएको थियो । सीमा क्षेत्रमा सामान जाँच गर्ने क्रममा कुटपिट भएको खुलेको छ ।

कुटपिट गर्ने समूह भारतबाट अवैध रुपमा सामान ओसारपसार गर्ने कार्यमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *