समाचार डिलिट गर्ने आदेश पुर्नविचार गर्न काठमाडौं जिल्ला अदालतलाई पत्रकार महासंघको आग्रह
मंगलबार जिल्ला अदालत काठमाडौँले नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारका विषयमा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
२८ जेठ, काठमाडौं । नेपाल पत्रकार महासंघले दुई सञ्चारमाध्यममा प्रकाशित समाचारको विषयलाई लिएर जिल्ला अदालत काठमाडौँले दिएको अल्पकालीन आदेशका विषयमा ध्यानाकर्षण भएको जनाएको छ । साथै महासंघले आदेश पुर्नविचार गर्न काठमाडौं जिल्ला अदालतलाई आग्रह गरेको छ ।
त्यसो नभएमा आदेशका विरुद्ध अदालती प्रक्रिया वा अन्य गतिविधि गर्न बाध्य हुने महासंघको भनाइ छ । मंगलबार जिल्ला अदालत काठमाडौँले नेपालखबर डटकम र बिजमान्डु डटकम अनलाइनमा प्रकाशित समाचारका विषयमा अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
समाचारका विषयमा चित्त नबुझ्ने पक्षले प्रेस काउन्सिल नेपालमार्फत अघि बढ्नुपर्नेमा काउन्सिलको क्षेत्राधिकार समेत मिच्दै अदालतबाट आदेश आउनु प्रेस स्वतन्तन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यता र नेपालको संविधान २०७२ गरेको व्यवस्था र मर्मविपरित भएको महासंघले ठहर गरेको महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
बुधबार जारी गरिएको विज्ञप्तिमा महासंघले प्रकाशित सामग्रीबारे कुनै प्रश्न उठ्दा त्यसको तथ्य पुष्टि गर्ने दायित्व पनि सम्बन्धित सञ्चारमाध्यमकै हुने भन्दै पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सञ्चारमाध्यमहरुलाई समेत आग्रह गरेको छ ।
