जापान लगिएका युवा र पूर्वमन्त्री अधिकारी एउटै होटलमा कोठा बुकिङ गरेको पाइयो ।
२५ कात्तिक, काठमाडौं। कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी र फर्जी कागजका आधारमा उनीसँगै जापान पुगेका युवकले एउटै होटलमा कोठा बुकिङ गरेको फेला परेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका क्रममा तत्कालीन मन्त्री अधिकारी र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटाले जापानको टोकियामा एउटै होटलमा अग्रिम कोठा बुकिङ गरेको पाइएको छ ।
पूर्वमन्त्री अधिकारीले भने आफूसँगै तीन जना गएको भन्ने हङकङमा मात्र थाहा पाएको र त्यसभन्दा पहिले चिनजान नभएको जिकिर गरेका थिए । तर, प्रहरीले त्यसरी जापान गएका एक युवक र उनको एउटै होटलमा बुकिङ भएको पाइएको बताएका छन् ।
पूर्वमन्त्री अधिकारीलाई पक्राउ गरेर आइतबार अदालतमा पेश गर्दा सरकारी वकिलहरुले यीसहितका तथ्यका आधारमा उनीमाथि अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने जिकिर गरेका थिए ।
अदालतमा पेश गरिएको संक्षिप्त प्रहरी प्रतिवेदनमा ‘अधिकारीसँगै खोटाङको केपीलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा ११ कात्तिकमा जापानका लागि उडेको’ भनिएको छ ।
त्यसबेला उनीहरु आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नाममा जारी भएको नक्कली कर्मचारी परिचय पत्र बनाएर जापान उडेको समेत प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा आएपछि थप अनुसन्धानका लागि अध्यागमन विभागले तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालय बुझाइदिएको थियो ।
त्यसक्रममा यो प्रकरणमा संलग्नता देखिएपछि नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाका ३४ वर्षीय महेश पाण्डे समेत पक्राउ परेका थिए ।
पूर्वमन्त्री अधिकारीलाई यो मामलामा अनुसन्धान गर्न २ दिन हिरासतमा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिइसकेको छ ।
तत्कालीन मन्त्री अधिकारीले आफूहरुसँगै जापान गएका तीन जनामाथि अनुसन्धान सुरु भएपछि बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए । पछि उनलाई नेकपा एमालेको प्रदेश कमिटीले संगठित सदस्यबाट समेत निलम्बन गरेको थियो ।