दिल्लीमा क्यान्सरको नक्कली औषधि बेच्ने गिरोहको काठमाडौं कनेक्सन
नेपालबाट भारतमा ती औषधि पठाउनेको समेत पहिचान भइसकेको भन्दै संदिग्धको खोजी भइरहेको भारतीय प्रहरीले जनाएको छ ।
१२ असार, काठमाडौं । क्यान्सरको उपचार हुने भन्दै भारतको दिल्लीमा बिक्री भएको औषधिबारे अनुसन्धान गरिरहेको क्राइम ब्राञ्च (अपराध शाखा) ले नेपाल कनेक्सन फेला पारेको छ ।
क्राइम ब्रान्चका अधिकारीहरूले अनुसन्धानका क्रममा क्यान्सरका नक्कली औषधि ठूलो परिमाणमा काठमाडौं हुँदै भारतसम्म भित्रिएको पत्ता लगाएको भारतको अखबार द इण्डियन एक्सप्रेसले जनाएको छ ।
नेपालबाट भारतमा ती औषधि पठाउनेको समेत पहिचान भइसकेको भन्दै संदिग्धको खोजी भइरहेको भारतीय प्रहरीले जनाएको छ । ती व्यक्ति चाँडै पक्राउ पर्ने समेत दाबी गरिएको छ ।
नेपाल प्रहरीका अधिकारीहरूले भने त्यसबारे आफूहरूलाई कुनै जानकारी नभएको बताएका छन् ।
अन्तरदेशीय अपराध अनुसन्धान र आतकंवाद मामलामा अनुसन्धान गर्ने विशेष ब्यूरोका एक उच्च अधिकृतले भने, ‘त्यो विषयमा हामीसँग कुनै खाले समन्वय भएको छैन ।’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एक अधिकृतले पनि अनविज्ञता प्रकट गरे ।
यो महिनाको सुरुमा क्राइम ब्राञ्चले भण्डाफोर गरेको नक्कली क्यान्सर औषधिको गिरोहसम्बन्धी अनुसन्धानले ती नक्कली औषधिहरूको ठूलो परिमाण नेपालको काठमाडौं हुँदै भारत भित्रिएको पत्ता लगाएको प्रहरीले जनाएको छ ।
जुनको पहिलो सातामा दिल्ली प्रहरीले अनधिकृत रुपमा दर्ता नभएका क्यान्सरका औषधिहरू बिक्रीलाई बिक्री गर्ने गिरोहलाई समातेको थियो । पक्राउ परेकाहरूबाट अनुसन्धान जारी राखेको प्रहरीले त्यस्ता औषधि नेपालबाट भित्रिएको थाहा पाएको भनिएको छ ।