निजामति विधेयकमा गम्भीर षड्यन्त्र भयो, स्वीकार्य छैन : प्रचण्ड
लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीदेखि सांसदहरूले विधेयक निर्माणका क्रममा चलखेल भएको भनी प्रश्न गरे ।
१७ असार, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिबाट पारित भएको निजामती विधेयक सोमबारदेखि एकाएक विवादमा पर्यो ।
नेपाल माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामति सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन्। योङ कम्युनिष्ट लिग,नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई मंगलबार पेरिसडाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने बताए। उनले छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिए।
‘परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ। आज तपाईंहरूले संघीय निजामति विधेयकमा पनि हेर्नुभएको छ,त्यसमा षड्यन्त्र भएको छ,’उनले भने,’यो विधेयकमा कसले बदमासी गर्यो, त्यसको छानबिन गरी,चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौं।’
खासगरी निजामती सेवाको मुख्यसचिवदेखि सहसचिवसम्मका व्यक्तिहरू अवकाश भएमा उनीहरू बाहेकलाई मात्रै निषेध गर्न खोजिएको भन्दै चौतर्फी प्रश्न उठेको हो । लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीदेखि सांसदहरूले विधेयक निर्माणका क्रममा चलखेल भएको भनी प्रश्न गरे ।