राप्रपा सांसद कार्कीको आरोपः नेताहरूको रगतमै भ्रष्टाचार छ

उनले भनिन्, ‘हामी भ्रष्टाचारमा र राजनीतिक नियुक्तिमा यति लिप्त भइसकेका छौं, हाम्रो रगतमा नै भ्रष्टाचार आइसकेको छ ।’

२२ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले नेताहरूको रगतमा नै भ्रष्टाचार रहेको आरोप लगाएकी छन् ।

आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तरर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद कार्कीले उड्दै नउड्ने जहाँज किन्ने र चल्दै नचल्ने विमानस्थल बनाउने स्थिति नेपालमा जारी रहेको बताइन् ।

‘हामी कस्तो स्थितिमा छौँ भने प्लेन किन्छौँ उड्दै नउड्ने, एयरपोर्ट बनाउँछौँ चल्दै नचल्ने । यसको कारण भ्रष्टाचार हो,’ उनले भनिन्, ‘हामी भ्रष्टाचारमा र राजनीतिक नियुक्तिमा यति लिप्त भइसकेका छौं, हाम्रो रगतमा नै भ्रष्टाचार आइसकेको छ ।’

सांसद कार्कीले जहाज चढ्दा आफ्ना भगवानहरू पुकार्दै चढ्न नपर्ने र सुरक्षित गन्तव्यमा पुग्छौँ भन्ने विश्वासका साथ चढ्न पाउने स्थिति बनाउनुपर्ने बताइन् ।

‘यो विधेयकले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरोस् । हामी प्लेन चढ्दा आफ्ना भगवानहरु पुकार्दै चढ्न नपरोस् । सुरक्षित गन्तव्यमा पुग्छौँ भन्ने विश्वास होस्,’ उनले भनिन्, ‘हाम्रा नातागोतालाई पनि आफ्ना मान्छे सुरक्षितसाथ गन्तव्यमा पुग्छन् भन्ने विश्वास गर्न सकून् ।’

समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *