जगदम्बा स्टिल्सको भट्टी विष्फोट प्रकरणः राजनीतिक दलले गुहारे सीडीओ

जिल्ला प्रशासन कार्यालय बारा पुगेर सात राजनीतिक दलको जितपुरसिमराका नेताले प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन्।

सिमराः जगदम्बा स्टिल्सको जोखिमपूर्ण भट्टी सञ्चालनमा रोक लगाउन माग गर्दै आएका राजनीतिक दलका स्थानीय नेताले सोमबार बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई ज्ञापनपत्र बुझाएका छन्।

जिल्ला प्रशासन कार्यालय बारा पुगेर सात राजनीतिक दलको जितपुरसिमराका नेताले प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन्। बस्तीको बीचमा मानव स्वास्थ्य र वातावरणलाई जोखिम हुने गरी उद्योगले सञ्चालन गरेको भट्टी तत्काल रोकिनुपर्ने माग उनीहरूको छ। असार १८ गते राति उद्योगको सिसिएम प्लान्टमा भएको भट्टी विष्फोटको घटनायता राजनीतिक दल विरोधमा छन्।

जगदम्बाको पछिल्लो घटनाविरुद्ध सात राजनीतिक दल एकै ठाउँमा उभिएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनमत पार्टीले सीडीओलाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा कांग्रेस सभापति छविलाल शर्मा, एमाले अध्यक्ष त्रिलोकविक्रम शाह, माओवादी अध्यक्ष प्रेम बराल, रास्वपा सभापति सुरेशराज केसी, समाजवादीका अध्यक्ष सञ्जय पटेल, लोसपाका अध्यक्ष सरोज पटेल र जनमतका अध्यक्ष मनोहर साहले हस्ताक्षर गरेका छन्।

ज्ञापनपत्रमार्फत उनीहरूले स्थानीयको स्वास्थ्यमाथि उद्योगले गर्दै आएको ज्यादती तत्काल नियन्त्रण गर्न माग राख्दै प्लान्टमा भएको विष्फोट घटनाको छानविन गर्न समेत माग गरेको छ। उनीहरूले घटनापछिको त्रासदीपूर्ण वातावरणलाई गम्भीरताका साथ लिन स्थानीय प्रशासनसँग आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *