सशस्त्रका सईको मदिरा तस्करी रोक्न खोज्दा ‘हत्या’
सो क्रममा मदिरा तस्कर समूहको स्कर्पियोले सई यादवलाई ठक्कर दिएर भारततर्फ फरार भएको थियो।
१६ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सई लक्ष्मणप्रसाद यादवलाई ठक्कर दिएर ज्यान लिने गाडी मदिरा तस्करीमा संलग्न रहेको खुलेको छ ।
मदिरा तस्कर समूहको गाडीले ठक्कर दिंदा सई यादवको ज्यान गएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
आइतबार बिहान ३ बजेर १० मिनेट जाँदा यादवको कमाण्डमा पाँच जनाको गस्ती टोलीले स्कर्पियो गाडीमा मदिरा तस्कर भएको देखेको थियो । सई यादवको टोलीले नेपाल प्रहरीसमेतको संयुक्त टोलीले उक्त गाडीलाई पछ्याएको थियो । सो क्रममा मदिरा तस्कर समूहको स्कर्पियोले सई यादवलाई ठक्कर दिएर भारततर्फ फरार भएको थियो। गम्भीर घाइते भएका सई यादवलाई नेपाल रेडक्रस सोसाइटी कचनारी उपशाखाको एम्बुलेन्समा राखी ३ः४५ बजे प्रादेशिक अस्पताल लहान पुर्याइएको थियो। सहप्रवक्ता थापाले अस्पताल पुर्याएको १५ मिनेटपछि ४ बजे नै सई यादवको मृत्यु भएको बताए ।
यादवको तस्कर समूहको ठक्करबाट मृत्यु भएपछि आफन्तहरूले आइतबार बिहान प्रदर्शन समेत गरेका थिए ।
एसपी पण्डितले ‘पोस्टमार्टमपछि फौजी परम्पराअनुसार सलामीको काम सकिएपछि शव परिवारलाई बुझाइनेछ,’ भने ।
सई यादवको मृत्यु भएपछि अनुसन्धान अघि बढाएको सिरहा प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । सिरहा एसपी पण्डितले पनि दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताए ।