इजरायली आक्रमणमा इरानी राष्ट्रपति घाइते
केन्द्रमा आक्रमणपछि राष्ट्रपति पेजेश्कियान र अन्य सदस्यहरू आपत्कालीन सुरुङबाट बाहिर निस्कने क्रममा खुट्टामा चोट लागेको थियो ।
३० असार, काठमाडौं । गत महिना इरानमाथि इजरायलले गरेको एक आक्रमणमा इरानी राष्ट्रपति मसउद पेजेश्कियान घाइते भएको इरानको रिभोलुसनरी गार्डसँग निकट मानिने फार्स समाचार एजेन्सीले जनाएको छ ।
इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्ससँग नजिक रहेको फार्स समाचार एजेन्सीले राष्ट्रपति मसूद पेजेश्कियानले जुन १६ मा तेहरानको एक गोप्य भूमिगत सुविधामा सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को आपतकालीन बैठकमा भाग लिएको उल्लेख गरेको छ।
केन्द्रमा आक्रमणपछि राष्ट्रपति पेजेश्कियान र अन्य सदस्यहरू आपत्कालीन सुरुङबाट बाहिर निस्कने क्रममा खुट्टामा चोट लागेको थियो ।
इजरायलको आक्रमणबाट इरानी राष्ट्रपति सामान्य घाइते भएको भन्ने फार्स एजेन्सीको यो रिपोर्ट स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको बीबीसीले जनाएको छ । इजरायलले पनि यस विषयमा सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन । यद्यपि इरानले घुसपैठ भएको हुनसक्ने आशंकामा आन्तरिक अनुसन्धान गरिरहेको छ ।