यसक्रममा मुख्यसचिव अर्यालले गडबडी सम्बन्धमा कुनै जानकारी नभएको बताएका हुन् । ‘मलाई यो प्रक्रिया (निजामती विधेयकको प्रतिवेदन तयार पार्ने प्रक्रिया)मा राम्रोसँग सामेल गरिएन,’ उनले भने ।
संसदीय समितिले प्रतिवेदन सार्वजनिक नगर्दासम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिवलाई नदिएको पनि उनले बताए। दुवै मन्त्रालयका सचिवलाई समेत निजामती विधेयक निर्माण प्रक्रियामा ग्यापमा राखिएको अर्यालको भनाइ छ।
मुख्यसचिव अर्यालले राजनीतिज्ञले राजनीतिज्ञले कर्मचारीलाई विश्वास नगरेको गुनासो पनि गरे । ‘कर्मचारीतन्त्रलाई राजनीतिज्ञले विश्वास गरेनन् । ३४ वर्ष भयो मैले काम गरेको । अब म घर जाँदा अयोग्य भएर जाने ?’ उनको प्रश्न छ, ‘आफैं नियुक्ति दिने अनि आफैं अविश्वास गर्ने ?’
पेशागत हितका लागि गरिएको लबिइङलाई समेत राजनीतिज्ञले अनावश्यक टिप्पणी गरेको भन्दै उनले दु:ख व्यक्त गरे। ‘हामीले पेशागत हितका लागि गरेको लविङलाई देउसी भैलोमा परिणत गरिदिने ?’ उनले भने।
कुलिङ पिरियडको व्यवस्था राख्दा तत्काल अवकास प्राप्त कर्मचारीले नियुक्ति नपाउने तर दुई वर्षअघिका तिनै कर्मचारीले अवसर पाउने भन्दै उनले गल्ती गर्नेलाई नै लाभ हुने वातावरण बन्ने पनि बताए । ‘जसको गल्तीका कारणले कुलिङ अफ पिरियडको विषय उठ्यो, र कानुन बन्दैछ, त्यो व्यवस्था राख्दा फेरि पनि तिनैलाई फाइदा गर्छ, लाभ दिन्छ ।’