विदेशमा बसेर मानव बेचबिखनमा संलग्न रहे पनि नेपालको कानुनअनुसार कारबाही हुने

यसलाई थप फराकिलो गर्दै प्रस्तावित विधेयकमा नेपाल बाहिर बसेर मानव बेचबिखनमा संलग्न रहे पनि कारबाहीमा पर्ने प्रावधान राखिएको छ ।

८ साउन, काठमाडौं । विदेशमा बसेर मानव बेचबिखनमा संलग्न रहे पनि नेपालको कानुनअनुसार कारबाहीमा पर्ने गरी सरकारले कानुन बनाउँदैछ ।

सरकारले ‘मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४’ लाई संशोधन गरेर यस्तो प्रावधान थप्न लागेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले प्रतिनिधि सभामा दर्ता गरेको प्रस्तावित विधेयकअनुसार नेपालबाहिर बसेर मानव बेचबिखनमा संलग्न रहे पनि नेपालको कानुनअनुसार कारबाहीमा पर्नेछन् ।

प्रचलित ऐनको दफा १ मा यो ऐन नेपालभर लागू हुने र नेपालबाहिर बसी नेपाली नागरिक विरुद्धको कसुर गरेको व्यक्तिको हकमा समेत लागू हुने भनिएको छ ।

यसलाई थप फराकिलो गर्दै प्रस्तावित विधेयकमा नेपाल बाहिर बसेर मानव बेचबिखनमा संलग्न रहे पनि कारबाहीमा पर्ने प्रावधान राखिएको छ ।

संशोधित विधेयकमा भनिएको छ, ‘यो ऐन नेपालभर लागू हुनेछ र नेपाल बाहिर बसी नेपाली नागरिकविरुद्ध यस ऐन बमोजिमको कसुर गर्ने जुनसुकै व्यक्ति वा नेपाल बाहिर बसी जुनसुकै व्यक्ति विरुद्ध यस ऐन बमोजिमको कसुर गर्ने नेपाली नागरिकको हकमा समेत लागू हुनेछ ।’

यो व्यवस्था ऐनमा रुपान्तरित भएपछि नेपाल बाहिर बसेर मानव बेचबिखनमा संलग्न रहे पनि कारबाहीमा पर्ने विधेयकमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *