नेप्से परिसूचक ३ हजार विन्दुमाथि

आज १७६ कम्पनीको मूल्य बढ्दा ७४ को घट्यो । अन्य समूह सबैभन्दा धेरै २.५८ प्रतिशत बढ्यो ।

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन सोमबार एकल अंकले बढेको नेप्से परिसूचक आज ३०.४९ अंकले बढेर ३००२.०७ विन्दुमा पुगेको छ।

बजार बन्द हुँदा नेप्सेको आजको अंक २०७८ भदौ १३ यताकै उच्च हो । सो वर्ष भदौ २ गते हालसम्मकै उच्च ३१९८ अंकको रेकर्ड बनाएपछि नेप्से ओरालो लागेको हो ।

आज १८ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको हो । हिजो १९ अर्ब ३६ करोडको कारोबार भएको थियो । कारोबार रकम भने गत साउन ३१ गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको बनेको छ ।

आज १७६ कम्पनीको मूल्य बढ्दा ७४ को घट्यो । अन्य समूह सबैभन्दा धेरै २.५८ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ १.३२, होटल तथा पर्यटन ०.३२, हाइड्रोपावर ०.४४, लगानी ०.९४, जीवन बीमा ०.७९, उत्पादन तथा प्रशोधन ०.९८, माइक्रोफाइनान्स १.६९ तथा निर्जीवन बीमा १.१२ प्रतिशत बढे । व्यापार ०.२५, विकास बैंक ०.३६ तथा फाइनान्स ०.१२ प्रतिशत घटे ।

चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी र नाडेप लघुवित्त छन् । केही दिनयता १० प्रतिशत मूल्य बढिरहेको नयाँ कम्पनी ट्रेड टावर प्रतिकित्ता ८६२.७० रुपैयाँ पुगेको छ भने सान्भी ७६९ रुपैयाँ पुगेको छ ।

त्यस्तै नेपाल वेयरहाउजिङको ८.०६, मायाखोलाको ७.२१ तथा ग्रिन भेन्चर्सको ७ प्रतिशत मूल्य बढ्यो । समता घरेलु लघुवित्तको मूल्य सबैभन्दा धेरै ८.६ प्रतिशत घट्यो । अन्य मूल्य घटेका कम्पनीको गिरावट दर ३ प्रतिशतमुनि रह्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन डिस्टिलरी, ग्रिन भेन्चर्स, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स र राधि विद्युत् छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *