ल्हेन्दे खोलामा फेरि पनि बाढी, रसुवा, नुवाकोट र धादिङमा अलर्ट

प्राधिकरणले अहिले पनि बाढीको सतह उच्च नै रहेकोले रसुवा, नुवाकोट र धादिङका भोटेकोशी र त्रिशुली नदी किनार र आसपासका नागरिकलाई सजकता अपनाउन अनुरोध गरेको छ।

१४ साउन, काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट बगेर आउने ल्हेन्दे खोलामा फेरि पनि ठूलो बाढी आएको छ । सो बाढीले रसुवा, नुवाकोट हुँदै बग्ने भोटेकोशी  र त्रिशुली नदी किनारको क्षेत्र डुबानमा परेको छ ।

बाढीले नुवाकोट र रसुवाको सिमानामा पर्ने उत्तरगया धाम डुबानमा परेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

गत असार २५ गते आएको बाढीले बगाएको नेपाल–चीन मितेरी पुल रहेको क्षेत्रमा चीनले थालेको निर्माणको काम बन्द भएको छ ।

प्राधिकरणले अहिले पनि बाढीको सतह उच्च नै रहेकोले रसुवा, नुवाकोट र धादिङका भोटेकोशी र त्रिशुली नदी किनार र आसपासका नागरिकलाई सजकता अपनाउन अनुरोध गरेको छ। खोलामा माछा मार्न जाने, बाढीमा बगेर आएका काठ दाउरा टिप्न जानेजस्ता कार्यहरु नगर्ने आग्रह गरिएको छ।

रसुवामा र चीनको तिब्बत क्षेत्रमा मंगलबार वर्षा भएको थियो । सोही वर्षाका कारण बाढी आएको अनुमान छ । रसुवाको उत्तरगया गाउँपालिका आसपासका क्षेत्र र किस्पाङको त्रिशुली थ्री बी हब लगायत क्षेत्रमा जल सतह बढेको देखिन्छ ।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बाढी कम नभएकाले क्षति हुनसक्ने भएकाले सतर्कताका सूचना जारी गरिएको छ ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले गत असार २५ गतेकै तहमा बाढी आएको भन्दै सतर्क रहन सूचना जारी गरेको छ । आज बिहान ३:५५ बजे नुवाकोटको बिदुर नगरपालिका इलाकामा बाढी आइपुगेको हुँदा धादिङ्ग तर्फ रहेको गल्छी गाउँपालिका क्षेत्र हुँदै बग्ने त्रिशूली नदी आसपासका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।

सूचना दिन र उद्धार गर्नका लागि सुरक्षा निकायका अंगहरु परिचालन भइसकेको र कुनै समस्या भए स्थानीय  जनप्रतिनिधि र नजिकको प्रहरी चौकीमा खबर गरिदिन स्थानीयलाई भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *