नक्कली भुटानी शरणार्थी प्रकरण : आजदेखि अन्तिम सुनुवाइ
काठमाडौं जिल्ला अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजलासमा पेसी तोकिएको छ ।
१८ भदौ, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणको अन्तिम सुनुवाइ सुरु भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजलासमा पेसी तोकिएको छ । यो प्रकरणमा ३३ जना प्रतिवादी छन् ।
३० जेठ २०७६ मा गृहमन्त्री रामबहादुर थापा बादलको पालामा पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वमा भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै कार्यदल गठन भएको थियो । पन्थीको संयोजकत्व गठित कार्यदलमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए । कार्यदल बनेदेखि नै ठगीको प्रक्रिया सुरु भएको अनुसन्धानबाट खुलेको थियो ।
उक्त कार्यदलको प्रतिवेदनमा नक्कली भुटानी शरणार्थीको समेत नाम समावेश गराएर अमेरिका पठाउने भन्दै रकम असुलिएको थियो । यो काम भने कांग्रेस नेता तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालमा भएको थियो । खाँणको पालामा पन्थी कार्यदलको प्रतिवेदनमा अनसूची नै थपेर नक्कली नाम राख्दै ठगी भएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।