सिरहामा प्रहरीकै अगाडि दलित बस्तीमा तोडफोड र लुटपाट, वडाअध्यक्ष प्रहरीको नियन्त्रणमा
अरङको ठूलो पोखरीको उत्तरपट्टी डिलमा बसोबास गरिरहेका पाँच घर दलितहरूको घर शुक्रबार ५ बजेतिर प्रहरीकै अगाडि तोडफोड र लुटपाट भएको थियो ।
२० असोज, जनकपुरधाम । सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङमा पाँच दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन् ।
वडाध्यक्ष यादवका अलावा तोडफोड र लुटपाटमा संलग्न स्थानीय राजकुमार सिंह, प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, कैलाश सिंह, गणेश कामती, मुस्तफा राइनलगायतमाथि जाहेरी परेको थियो । जाहेरी परेसँगै वडाध्यक्ष यादवसहित तीनजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । अन्यको खोजी कार्य जारी रहेको एसपी शर्माले बताए ।
१३ जनाविरुद्ध जाहेरी परे पनि अनुसन्धानबाट थप संलग्न व्यक्तिहरू पाइए उनीहरु माथि समेत कारबाही प्रक्रिया अघि बढाइने एसपी शर्माले बताए ।
अरङको ठूलो पोखरीको उत्तरपट्टी डिलमा बसोबास गरिरहेका पाँच घर दलितहरूको घर शुक्रबार ५ बजेतिर प्रहरीकै अगाडि तोडफोड र लुटपाट भएको थियो ।
स्थानीय शोभित पासवान, विन्दे पासवान, अशोक पासवान, राजकुमार पासवान र रासलाल पासवानको घर तोडफोड र लुटपाट भएको थियो ।
पीडितका अनुसार राजकुमार सिंह, प्रभाष सिंह, शैलेन्द्र सिंह, नितेश सिंह लगयत २०/२५ जनाको समूहले घर तोडफोड तथा लुटपाट गरेका थिए । मिर्चैया र सशस्त्र प्रहरीको थप टोली आएपछि उनीहरू भागेका थिए ।
असोज १ गतेको विश्वकर्मा पूजामा अरङ बजारमा आर्केस्ट्रा स्थलमा दलित समुदायसँग प्रभाससहितले विवाद गरेका थिए । त्यस घटना विरुद्ध दलित समुदायले प्रहरीमा उजुरी दिएपछि उनीहरुले घर तोडफोड गरेको स्थानीयको भनाइ छ ।